उखु अनुदानको रकम नपाएको भन्दै किसान आए काठमाडौंको सडकमा

उखु अनुदानको रकम नपाएको भन्दै किसान आए काठमाडौंको सडकमा
तस्बिर : नेपाल न्युज बैैक

काठमाडौं : गत आर्थिक वर्ष सरकारले दिएको उखुको अनुदान रकम नपाएको भन्दै उखु किसानहरू भुक्तानीको माग गर्दै पुन काठमाडौंमा आन्दोलनका लागि आएका छन्। उनीहरूले आइतबारबाट काठमाडौंको सडक आन्दोलन सुरु गरे।

उखु उत्पादक महासङ्घ, उखु उत्पादक कृषक समितिलगायतले गत आर्थिक वर्षको उखुको बक्यौता अनुदान रकमप्रति क्विन्टल ७० का दरले भुक्तानी गर्नुपर्ने माग राख्दै आइतबार माइतीघरमा विरोध प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनमा सहभागी किसानहरूले एकतर्फी मूल्य स्विकार्न नसक्ने र उखु कृषकको शोषण बन्द गर्न माग राख्दै उखु अनुदान भुक्तानी,मूल्य निर्धारणमा कृषकलाई सहभागी लगायतका माग राखेका छन्।

प्रदर्शनमा बोल्दै उखु उत्पादक सङ्घ महोत्तरी जिल्लाको पूर्वअध्यक्ष उत्तम सिंह रानाले प्रत्येक वर्ष उखु ७० रुपैयाँ अनुदानमा पाए पनि अहिले सरकारले कटौती गरेको भन्दै प्रदर्शन गर्न बाध्य भएको बताए। उनले जुन रकममा उखु पाइएको थियो अविलम्ब रूपमा सरकार ले भुक्तानी गर्नुपर्ने माग गरे।

‘७० रुपैयाँ जुन अनुदान रकम भन्ने थियो त्यो प्रत्येक वर्ष पाइरहेका थियौ। तर यस वर्ष सरकारले कटौती गरिदिएछ।  त्यसका विरुद्ध सडकमा आएका हौँ। हामीले जुन पाइआएको रकम छ त्यो अविलम्ब रूपमा सरकारले भुक्तानी गरोस् भन्ने माग राखेका छौँ,’उनले भने।

उखु किसान आन्दोलनका लागि काठमाडौं आएको यो पहिलो पटक हैन। रकम भुक्तानी र अनुदान बढाउन माग राख्दै उनीहरूले पटक-पटक काठमाडौं केन्द्रित आन्दोलन गरिसकेका छन्। प्रत्येक आन्दोलनमा सरकारले समस्या समाधानको आश्वासन दिएपछि उनीहरू गाउँ फर्कन्छन् अनि समस्या उस्तै भएपछि पुन काठमाडौं आउँछन्।

भदौ ८, २०८२ आइतबार १५:१३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।