नेपाल र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता, धार्मिक सांस्कृतिक पर्यटन प्रवर्द्धनबारे छलफल

नेपाल र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता, धार्मिक सांस्कृतिक पर्यटन प्रवर्द्धनबारे छलफल

काठमाडौं : उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच प्रतिमण्डलस्तरीय भेटवार्ता भएको छ।

आज काठमाडौंमा सम्पन्न भेटमा दुवै उपराष्ट्रपतिबीच धार्मिक समानता, धार्मिक तथा सांस्कृतिक पर्यटनका सम्भावना, द्विपक्षीय व्यापार, लगानी, डिजिटल प्रविधि र जनस्तरको सम्बन्ध विस्तारजस्ता विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीले जानकारी दिए।

मित्रवत् र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भेटमा मन्त्रालयगत र विभिन्न तहमा भ्रमण आदानप्रदान गर्ने सहमति भएको छ। साथै नेपाल-भियतनामबीच हवाई उडान विस्तारबारे पनि आपसी छलफल गर्ने कुरा उठाइएको छ।

भियतनाम उच्च आर्थिक वृद्धिदर हासिल गरेको मुलुक भएकाले त्यहाँबाट सिक्न सकिने र लगानीका अवसर खोज्ने विषयमा पनि कुरा भएको अधिकारीले बताए।

यो भ्रमण भियतनामतर्फबाट भएको पहिलो उच्चस्तरीय भ्रमण हो। साथै यस वर्ष नेपाल-भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव भएकाले यसलाई विशेष महत्व दिइएको छ।

उपराष्ट्रपति सुआन, उपराष्ट्रपति यादवको निमन्त्रणामा शनिबार काठमाडौं आइपुगेकी हुन्। उहाँ भदौ ९ गते स्वदेश फर्कने कार्यक्रम छ।

भदौ ८, २०८२ आइतबार १४:१६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।