राष्ट्रिय नाटक महोत्सवमा १७ वटा नाटक मञ्चन

काठमाडौं : अक्षरा स्कुलको आयोजना तथा लालाबालाको सहकार्यमा काठमाडौंको पिङ्गलास्थानस्थित ‘स्टुडियो थिएटर’मा भएको विद्यालयस्तरीय पाँच दिने दोस्रो राष्ट्रिय नाटक महोत्सव सम्पन्न भएको छ।
अभिनेता विजय बरालको प्रमुख आतिथ्यमा भदौ २ गते उद्घाटन भएको महोत्सव शुक्रबार ४ वटा नाटक मञ्चन गर्दै समापन भएको हो।
शुक्रबार लिटिल एन्जल्स स्कुलको भिरमा फुलेका फूल, पवन प्रकृति स्कुलको पिता ?, पिक प्वाइन्ट एजुकेसन नेटवर्कको यशस्वी भवः र काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलको समीर नाचेको दिन प्रस्तुत गर्दै महोत्सवको समापन गरिएको नाट्यकर्मी टंक चौलागाईले जानकारी दिए। उनका अनुसार नाटकहरूमा बालबालिकाको उल्लेखनीय सहभागिता थियो।
यसअघि पहिलो संस्करण लालाबालाले एक्लै आयोजना गरेको महोत्सव यसपटक भने अक्षरा स्कुलले आयोजना गरी लालाबालासँग सहकार्य गरेको हो।
महोत्सवमा ‘थिएटर इन एजुकेसन कार्यक्रम’अन्तर्गत देशभरका १७ वटा विद्यालयका विद्यार्थीहरूले नाटक प्रस्तुत गरेका थिए। प्रस्तुत नाटकहरूमा भ्याली भ्यु स्कुलको इच्छा भर्सेस समय, ग्ल्याडस्टोन एकेडेमीको गीता, आकाशगंगा इन्टरनेसनल एकेडेमीको बैमानी काल, ग्लोबल पब्लिक स्कुलको द टेल अफ इन्द्रजात्रा, निस्ट स्कुलको पार्वती, कान्जिरोवा राष्ट्रिय माध्यमिक विद्यालयको दुःखी राजकुमारी, हिमालयन ह्वाइट हाउस स्कुलको The Greek Mythology Olympiaganza, टाइम्स एलिमेन्टरी स्कुलको दुःखी राजकुमारी, रोजबड स्कुलको परदेशको स्कुल लगायत थिए।
समापन कार्यक्रममा चलचित्र निर्देशक तथा पटकथा लेखक प्रदीप भट्टराईलगायत विभिन्न क्षेत्रका कलाकारहरूको उपस्थिति थियो।
आयोजक स्कुल अक्षराकी संस्थापक निर्देशक अन्जु भट्टराईले सहभागी विद्यालयका विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्दै नाटक महोत्सव गर्न पाएकोमा खुसी व्यक्त गरिन्। उनले साहित्य, सङ्गीत, कला र संस्कृति मानव जीवनका अभिन्न अङ्ग भएकाले विद्यालय तहमै नानीबाबुलाई अभिनयकलासँग परिचित गराउन जरुरी रहेको बताइन्।
भदौ ८, २०८२ आइतबार १३:१७:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।