मुग्लिन-पोखरा सडकको काम अझै सकिएन, पूर्वी खण्डको म्याद चौथो पटक थपियो

तनहुँ : मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) को काम अझै नसकिएपछि चौथो पटक म्याद थपिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तनहुँको जामुनेदेखि आँबुखैरेनीसम्मको खण्डका लागि म्याद आगामी असोज २५ गतेसम्म थपेको हो।
सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार गत असार २९ गते सकिएको तेस्रो म्यादपछि थप समय आवश्यक भएकाले चौथो पटक म्याद बढाइएको हो।
४१.५ किलोमिटर लामो यो खण्डमा चार लेनको कालोपत्रको काम पूरा भइसकेको छ। दमौली बजार क्षेत्रमा भने छ लेनमा कालोपत्र भएको छ। अधिकांश स्थानमा रङरोगन पनि सकिएको छ भने अब थोरै काम मात्रै बाँकी रहेको पाण्डेले बताए।
सडक विस्तारको सम्झौता २०७७ माघ १७ गते भएको थियो र २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको हो। सम्झौताअनुसार तीन वर्षभित्र काम सक्ने योजना भए पनि ४५६ दिन अतिरिक्त समय लागिसकेको छ।
उक्त खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको हो। सवारी चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनमा विस्तार गरिएको हो। पूर्वी खण्डको लागत करिब ६ अर्ब २१ करोड रुपैयाँ रहेको छ।
भदौ ८, २०८२ आइतबार १२:५६:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।