गोरखामा ४ सय रोपनी धानबालीमा मरुवा रोग, किसान चिन्तित

गोरखामा ४ सय रोपनी धानबालीमा मरुवा रोग, किसान चिन्तित

गोरखा : गोरखाको पालुङटार नगरपालिकामा ठूलो क्षेत्रफलमा लगाइएको धानबाली मरुवा रोगले आक्रान्त बनाएको छ। कृषि ज्ञान केन्द्रका अनुसार पालुङटार–४, ६ र ८ वडामा करिब ४१० रोपनी धानबालीमा मरुवा रोग फैलिएको छ।

सबैभन्दा धेरै असर वडा नं ८ को एकहजार फाँटस्थित द्वारटार क्षेत्रमा देखिएको छ, जहाँ धानका रोपाहरु नै सुकिसकेका छन्। कृषि ज्ञान केन्द्र गोरखाका बाली संरक्षण अधिकृत अब्बादत्त विष्टका अनुसार किसानले गुनासो गरेपछि प्राविधिक टोलीले खेतमै पुगेर अध्ययन गरेको थियो।

“रोग लागेका खेतका रोपाहरु सुकिसकेका छन्। मरुवा रोग वास्तवमा धानमा लाग्ने ढुसी हो। समयमै ढुसीनासक औषधि प्रयोग गर्न सके यसलाई नियन्त्रण गर्न सकिन्छ,” अधिकृत विष्टले भने।

विशेषगरी गोरखनाथ, सावित्री र मन्सुली जातका धानमा समस्या देखिएको छ भने सोही क्षेत्रमा लगाइएको राम धान भने सुरक्षित रहेको प्राविधिक टोलीले जनाएको छ। पालुङटार–४ र ६ मा पनि करिब १० रोपनी धानखेतमा रोग लागेको छ।

हाल किसानलाई औषधि उपलब्ध गराइसकिएको र स्प्रे समेत गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। यसबाट करिब ५० प्रतिशत धानबाली जोगाउन सकिने आशा गरिएको छ। विष्टका अनुसार बीउ छनोटदेखि नै किसानले विशेष सावधानी अपनाउनुपर्नेमा ध्यान नदिँदा यस्तो समस्या देखिने गरेको हो।

भदौ ८, २०८२ आइतबार ११:११:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।