चुरा, पोते र मेहेन्दीले सजिए काठमाडौंका व्यापारिक गल्ली, व्यवसायी दंग (तस्विरहरू)

काठमाडौं : तीज नजिकिदै गर्दा राजधानी काठमाडौंका बजारहरूमा चहलपहल बढेको छ। साडी, चुरा-पोते, गहना र मेहेन्दी पसलहरूमा भीड बढ्दा व्यापारीहरू व्यस्त देखिन्छन्।
काठमाडौं उपत्यकाको इन्द्रचोक, असन, न्यूरोड, मंगलबजार, लगनखेललगायतका बजारमा महिलाहरू साडी, चुरा, पोते र मेहेन्दी किन्न दौडधुप गरिरहेका देखिन्छन्। साउन महिनासँगै हरिया, पहेंला र रातो रंगका चुरा–पोते किन्नेको संख्या अझ बढेको व्यापारीहरू बताउँछन्।
धार्मिक विश्वास अनुसार चुरा-पोते लगाएर व्रत बस्दा मनोकामना पूरा हुन्छ भन्ने मान्यता छ। त्यसमाथि, अहिले महिलाहरूले साडी र चुरा-पोताको रंग मिलाएर श्रृंगार गर्ने चलन पनि बढेको छ।
व्यापारीहरूका अनुसार तीज र विवाहको सिजन चुरा-पोते व्यापारका लागि सबैभन्दा लाभदायक मानिन्छ। इन्द्रचोकमा ४५ वर्षदेखि पोते व्यवसाय गर्दै आएका अलिम मुदिम भन्छन- ‘टिकटकमार्फत नयाँ डिजाइन आइरहन्छन्, ग्राहकको मागअनुसार चीनबाट आउने चुरापोते तयार हुन्छन्।’
तर, अर्का व्यापारी महमद् मन्सुरले भने यस वर्ष व्यापार अपेक्षाकृत कमजोर भएको बताए। उनका अनुसार पोतेको मूल्य न्युनतम १०० रुपैयाँदेखि ६ सय रुपैयाँसम्म पर्छ भने मालाका केही आइटम युरोपबाट समेत आउने गरेका छन्। ‘पहिले जस्तो व्यापार अहिले छैन, नेपाली बजारमा ६ सयभन्दा माथिको पोते खासै बिक्री हुँदैन,’ उनले भने।
यस्तै, न्यूरोडमा ४० वर्षदेखि व्यापार गर्दै आएकी पूर्णिमा दर्शनले भने तीजका बेला चुरा-पोते र कस्मेटिक सामग्रीको बिक्री राम्रो हुने बताइन्। उनका अनुसार अहिले चुराको डिजाइन पनि प्रायः टिकटकबाटै आउँछ। चुराको मूल्य ५० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म पर्ने र चाडपर्वमा धागो, टिका, चुरा-पोतेको माग उच्च हुने उनको अनुभव छ।
भदौ ८, २०८२ आइतबार ०९:४४:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।