पाँच वर्षदेखि पुल निर्माण अधुरै, स्थानीयलाई सास्ती

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ र ५ जोड्ने ब्रह्मायणी नदीमाथि निर्माण भइरहेको मोटरेबल पक्की पुल पाँच वर्षदेखि अधुरै छ। दुई वर्षमै सम्पन्न गर्ने योजना रहेको उक्त पुलको निर्माण सूर्य जेभी निर्माण कम्पनीले करिब आठ करोड रुपैयाँमा लिएको थियो।
विसं २०७८ चैत २३ गते तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले ६३ मिटर लामो पुलको शिलान्यास गर्नुभएको थियो । तर, काम सुरु भए पनि बीचमै रोकिँदा अहिले पनि अपूरा संरचना मात्रै देखिन्छन् ।
जुगल गाउँपालिका उपाध्यक्ष हिमाल श्रेष्ठका अनुसार गाउँपालिकाले पटक–पटक निर्माण अघि बढाउन दबाब दिए पनि ठेकेदार कम्पनी बेपत्ता झैं भएको छ । “पुल बन्न सके साविकका सेलाङ र गोल्चे क्षेत्रका बासिन्दा धेरै लाभान्वित हुने थिए, तर मुख्य ठेकेदारले पेटी ठेकेदारलाई काम दिएर आफू सम्पर्कविहीन भएका छन्,” उहाँले भन्नुभयो ।
तर, सूर्य जेभीका प्रोपाइटर गणेश आचार्य भने समस्या सडक डिभिजन चरिकोटतर्फ भएको दाबी गर्छन् । “ड्रइङ डिजाइन एप्रुभ भइसकेको छ, तर भिओ (भ्यालु एस्टीमेट) नबनाइदिँदा र दुई वर्षदेखि बिल भुक्तानी रोकिँदा काम अघि बढाउन नसकिएको हो,” उहाँको भनाइ छ ।
यसैबीच, सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख आकाश श्रेष्ठले पुलको पिलरमा १० इन्च फरक देखिएकाले पुनः ड्रइङ तयार गरेर एप्रुभ गरिएको बताउँदै, अब भिओ र भुक्तानी प्रक्रियामा ढिलाइ नहुने दाबी गर्नुभएको छ ।
स्थानीय भने पुल अधुरै हुँदा लामो समयदेखि सास्ती खेपिरहेका छन् । जुगल गाउँपालिका–५ का वडाध्यक्ष रवीन्द्र घिमिरेका अनुसार नदी पार गर्न पुरानो झोलुङ्गे पुल मात्र विकल्प छ, तर त्यो जीर्ण भएकाले जोखिमपूर्ण छ ।
भदौ ८, २०८२ आइतबार ०७:४४:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।