आजको मौसम : बागमती र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहनुको साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जनाएको छ।
जसका कारण हाल देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ भने बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रही बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान र अन्य प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ भने मधेसलगायत कोशी र लुम्बिनी प्रदेशका तराई भूभागमा हुरीबतासको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति भने मधेस, कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका थोरै स्थान र बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।
भदौ ८, २०८२ आइतबार ०७:१७:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।