बैतडीमा पहिरोले एक घर पुरियो

बैतडीमा पहिरोले एक घर पुरियो
Filephoto

बैतडी : बैतडीको पुर्चौँडी नगरपालिका-४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले पुरिएको छ। 

अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले बोहराको तीन तले घर पूर्ण रूपमा क्षति भएको जल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बल्देव बडुले जानकारी दिए। उनका अनुसार पहिरो खस्न लागेको थाहा भएपछि परिवारका सबै सदस्य घरबाहिर निस्केकाले मानवीय क्षति भएको छैन।

पहिरोका कारण बोहराको गोठमा बाँधिएको एउटा भैसी, एउटा पाडो र एउटा बाख्रो पुरिएका प्रहरी निरीक्षक बडुले बताए। उनका अनुसार घरभित्रका अन्नपात, लत्ताकपडालगायत सबै सामग्री नष्ट भएका छन्। 

अहिले घटनास्थलमा खटिएको प्रहरीको टोली र स्थानीयले पहिरो पन्छ्याउने काम गरिरहेका छन्। पहिरोले घर पुरिँदा भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरी निरीक्षक बडुले जानकारी दिए। घर पहिरोले पुरेपछि बोहराको ११ जनाको परिवार अहिले छिमेकी मोतीराम बोहराको घरमा बसिरहेका छन्।

भदौ ७, २०८२ शनिबार २१:२८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।