लुम्बिनी प्रदेशका अधिकांश शहरमा फोहोर संकट : नदी र वन नै ‘डम्पिङ साइट’

बुटवल : दैनिक ७ टन फोहोर निस्कने पाल्पाको तानसेन नगरपालिकाले बतासे डाँडा नजिकै वनदेवी क्षेत्रको खोल्सामा फोहोर विसर्जन गर्दै आएको छ। तानसेन नगरपालिका-५ स्थित देउराली सामुदायिक वनको वनदेवी क्षेत्रको खोल्सामा नगरपालिकाले वनमा फोहोर मात्र फाल्दैन, प्लाष्टिक जन्य फोहोर जंगलमै जलाउँछ।
फोहोर जंगलमा जलाउँदा त्यसको असर बतासे सहित वसन्तपुर, कैलाशनगर, प्रभास, बाँसटारी क्षेत्रसम्म पर्छ। जंगल क्षेत्रमा फालेको फोहोर जलाउँदा वर्षेनी सुख्खायाममा देउराली जंगलमा समेत आगलागी हुने गर्छ। जथाभावी फालेको फोहोरले पानीको मूल, सिन्दुरे धारादेखि होलाङीसम्म असर गरेको छ। त्यो सडक हुँदै यात्रा गर्ने यात्रुहरू समेत त्यसबाट प्रभावित भएका छन्।
नगरपालिकाले तानसेन वडा नं. ५ सम्मोबारीमा ०६९ सालमा ल्याण्डफिल्ड बनाएर सञ्चालनमा ल्याएपनि ६ महिना भन्दा बढि प्रयोगमा आउन पाएन। नगरपालिकाका सूचना अधिकारी भरतप्रसाद आचार्यले स्थानीयको विरोध पछि ल्याण्डफिल्ड साईट बन्द भएपछि जंगलको खोल्मा फोहोर व्यवस्थापन गर्दै आएको बताए। ३ करोडको लागतमा ल्याण्डफिल्ड साईड तयार भएपनि स्थानीयको विरोध भयो। अहिले पनि ल्याण्डफिल्ड साईडलाई व्यवस्थित गर्न सर्त मार्फत १ करोड बजेट विनियोजन भएको उनले बताए।
‘हामीले कुहिने/नकुहिने फोहोर वर्गिकरण गरेर लैजाने गरेका छौ। शिशाजन्य फोहोर पनि हप्तामा एक दिन मात्र उठाउँछौ। जंगलमा फोहोर फालेपनि व्यवस्थित गरेर पुर्ने काम गरेका छौ’ उनले भने।
रुपन्देहीको देवदह नगरपालिकाले पनि फोहोर व्यवस्थापनमा हेलचेक्य्राइँ गरिरहेको छ। नगरपालिकाको व्यवस्थित डम्पिङ साईड छैन। पछिल्लो ७ वर्षयता नगरपालिकाले वडा नम्बर ५ र ६ स्थित बुद्ध सामुदायिक वन क्षेत्रमा फोहोर विसर्जन गर्दै आएको छ।
वन क्षेत्रमा फोहोर फाल्दा र जलाउँदा त्यसको असर बस्ती सम्म पुग्ने गरेको छ। नगरपालिकाले फोहोर फाल्दै आएको वनक्षेत्रदेखि एक किलोमिटर दूरीमा आँधिखोला टोल र सगरमाथा टोल छन्। यी दुई टोलमा सय भन्दा बढी परिवारको बसोबास छ। फोहोर जलाउँदा त्यसबाट निस्कने धुवाँको मुस्लोले त्यो बस्ती समेत ढाकिने गरेको छ।
नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ५ का वडा अध्यक्ष गणेश डुम्रेले नगरपालिकाले व्यवस्थित ल्याण्डफिल्ड साईड बन्न नसकेको बताउँछन्।
‘हामीले अस्थायी रुपमै बन क्षेत्रमा व्यवस्थित ढंगले फोहोर व्यवस्थापन गर्दै आएका छौ। अहिले अस्थायी ल्याण्डफिल्ड बनाउँदैछौ। नयाँ साईड बनेको छ। त्यहाँ तारबार गरेका छौ,’ उनले भने।
उनले फोहोर व्यवस्थापनका लागि स्रोतमै फोहोर वर्गीकरण गरेर साईडमा लैजाने तयारी गरेको बताए। साथै उनले साईडमा समेत फोहोर वर्गीकरण गर्ने र कुहिने फोहोरलाई मल बनाएर विक्री गर्ने नगरपालिकाको योजना रहेको बताए।
बुटवलबाट निस्कने फोहोर अहिले बुटवल उपमहानगरपालिका-११ सिरान गाउँ मजुवामा डम्प हुँदै आएको छ। नदी किनारमा फोहोर फाल्दा मजुवा, प्रवेशनगर, धुव्र नगर, दुर्गानगर, भगवती टोल, शिवालय टोल प्रभावित हुने गरेका छन्।
बुटवलबाट अहिले दैनिक ७५ टन फोहोर उत्पादन हुन्छ। तर पनि यसलाई दिगो व्यवस्थापन गर्न उपमहानगरपालिका चुकेको छ। पछिल्लो पटक मिलनपार्क देखि माथिल्लो खोँचमा फोहोर फाल्न सक्ने सम्भावना रहेको भन्दै समिति समेत बन्यो। तर समितिको अध्ययन पछि फोहोर त्यहाँ फाल्न सम्भव भएन।
७५ टन मध्ये १२ टन फोहोर बुटवल सरसफाइ सहकारीले फोहोर प्रशोधन केन्द्र मार्फत व्यवस्थापन गर्दै आएको छ भने बाँकी सबै नदि किनारमै फोहोर व्यवस्थापन हुँदै आएको छ।
‘फोहोर प्रशोधन केन्द्रका लागि एडिबी बुटवलबाट फिर्ता गएपछि दिगो व्यवस्थापनका लागि अन्य कार्य भएको छैन। प्रशोधन केन्द्र बनाउने कुरा छ। तर बस्तीलाई दुर्गन्धित नहुने गरी हामीले मजुवामा अहिले फोहोर व्यवस्थापन गर्दै आएका छौ’ उपमहानगरपालिकाका अनुगमन तथा मूल्याङ्कन शाखाका ठगिश्वर पोखरेलले भने।
उनले फोहोर वर्गीकरण गरेर छुटाउने र फोहोर फालेपछि पुर्ने काम उपमहानगरपालिकाले गर्दै आएको बताए। ‘गन्ध कम गर्नका लागि फिनेल छर्ने गरेका छौ। माखा मार्न औषधीको प्रयोग गरेका छौ’ उनले भने।
बुटवल उपमहानगरपालिकाले पहिलो पटक २०५२ सालदेखि संस्थागत रूपमा फोहोर व्यवस्थापन गर्न सुरू गरेपनि अहिलेसम्म दिगो व्यवस्थापन हुन सकेको छैन।
कुहिने फोहोरबाट कम्पोस्ट मल तयार गर्ने र प्लास्टिक, टिन तथा फलामजन्य फोहोर संकलन गरी बिक्री गर्ने उद्देश्यले ट्रिटमेन्ट प्लान्टसहितको ल्याण्डफिल्ड साईड बनाउने भन्दै एसियाली विकास बैँकसँग ऋण अनुदानका लागि सम्झौता भएपनि यो काम अघि बढेन।
सन् २०१० मा एडिबीसँग सम्झौता गरिए पनि आठ वर्षसम्म जग्गा पाउन नसक्दा यो परियोजना अघि बढेन। पछि शिवनगर सामुदायिक वन क्षेत्रमा ४ सय ८४ हेक्टर क्षेत्रफलमा फोहर प्रशोधन केन्द्र बनाउने गरी योजना तयार भएपनि स्थानीय र राजनीतिक दलको असमझदारीले यो योजना पनि अघि बढेन।
यी त केही प्रतिनिधि उदाहरण मात्र हुन। लुम्बिनी प्रदेशका हरेक शहरको फोहोर नदी वा वन क्षेत्रमै व्यवस्थापन गरिँदै आएको छ। गुल्मी जिल्लाको रेसुंगा नगरपालिकाले वडा नंं ७ स्थित जंगलमा फोहोर फाल्दै आएको छ। रुपन्देहीको सैनामैना नगरपालिकाले खोल्सामा फोहोर व्यवस्थापन गर्दै आएको छ।
त्यसबाहेक दाङको तुलसीपुर, भालुवाङ शहरको फोहोर पनि नदि किनार र जंगलमा व्यवस्थापन गरिँदै आएको छ। लमही नगरपालिकाले अजम्मरी सामुदायिक वन क्षेत्रलाई फोहोर फाल्ने डम्पिङ साइट बनाएको छ। फोहोरमैला व्यवस्थापनको कुनै पनि योजना नबनाएर वन क्षेत्रमा जथाभावी फोहोर फाल्दा वातावरण दुर्गन्धित बनेको छ।
घोराही उपमहानगरपालिकाले भने फोहोर प्लान्ट जडान गरेर शहरको फोहोर व्यवस्थापन गर्दै आएको छ। बाँकेको कोहलपुर नगरपालिका, रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पनि शहरको फोहोरमैला दिगो व्यवस्थापन गर्न सकेका छैनन्।
जङ्गलमा बोतल, लत्ताकपडा, प्लास्टिकजन्य वस्तु, सिसा लगायतका फोहोर फाल्दा मानव स्वास्थ्यमा मात्र असर गरेको छैन यसले वातावरणीय असन्तुलन समेत हुने गरेको छ।
वातावरण विद् युवराज कंडेलले वन र खोला क्षेत्रमा फोहोर फाल्दा यसले वातावरणमा असर पुग्ने बताउँछन्। डम्पिङ साईड बनाउनुपर्नेमा स्थानीय तहहरू वैज्ञानिक ढंगले नबनाएर खुल्ला रुपमै डम्पिङ गर्ने गरेको उनले बताए। ‘ स्थानीय तहहरूले सरकारी वन आफ्नै हो भन्ने ठान्छन्। वन ऐनले वनमा फोहोर फाल्न नमिल्ने भन्छ। बाटोकै किनारमा डम्पिङ छ। यसले कानुनको उपहास गरेको छ’ उनले भने।
जंगलामा आगलागी बृद्धि हुनुमा फोहोर पनि एक कारण हो। त्यति मात्र हैन वन र नदि किनारमा फोहोर फाल्दा फोहोर खेतसम्म पुग्ने गरेको छ। जंगलमै फोहोर फाल्दा जीवजन्तुको स्वास्थ्यमा असर पारेको छ। जंगलभित्रका रैथाने बोट विरुवाको विकासमा समेत असर पुर्याएको उनले बताए।
भदौ ७, २०८२ शनिबार २१:०६:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।