नेपाली राजनीतिमा अग्रगामी रूपान्तरणको आवश्यकता छ : डा.बाबुराम भट्टराई

नेपाली राजनीतिमा अग्रगामी रूपान्तरणको आवश्यकता छ : डा.बाबुराम भट्टराई

काठमाडौं : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले वर्तमान नेपाली राजनीतिमा अग्रगामी रूपान्तरणको आवश्यकता औंल्याउँदै विचारकै पुनःसंरचनाको खाँचो रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित पुस्तक ‘एन्टिथेसिस’ दोस्रो संस्करणको प्रकाशन सन्दर्भमा आयोजना गरिएको बहस कार्यक्रममा बोल्दै भट्टराईले देशमा विचारको विकास हुन नसकेको बताउँदै नयाँ ढंगले सोच्नुपर्ने समय आएको बताए।

उनले भने, ‘विचारकै पुनःसंरचना गरेर समयको परिस्थिति अनुसार जानु जरुरी छ। अहिले विश्वभर विचारको खडेरी छ, र यो हाम्रो मुल समस्या हो। संसारमा जुन ज्ञान, विज्ञान, प्रविधि र चेतना सिर्जना भएको छ। त्यसमा आधारित भएर नयाँ विचारको निर्माण गर्न जरुरी छ। हामीले विचारको नयाँ संस्करण तयार पार्नुपर्छ।’

त्यसैगरी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संविधानमा उल्लेखित उपलब्धिहरूको उपभोग जनतासम्म पु¥याउन नसकिएकोमा चिन्ता व्यक्त गरे।

उनले भने, ‘संविधानमा प्रगतिका कुरा लेखिएको छ तर ती जनताले भोग्न पाएका छैनन्। संविधानको उपभोग बनाउने अवस्था सिर्जना गर्न हामी चुक्यौं । यो प्रश्न मैंले आफैंलाई गरेको हुँ। तर मेरो आत्मसमीक्षाले अरूलाई डरलाग्छ होला। संसद्मा निरन्तर रही काम गरिरहेकाले यो प्रश्न गर्न मलाई अधिकार छ।’

शर्माले पछिल्लो समय संसद् प्रणालीप्रति पनि निराशा व्यक्त गरे। ‘अहिले त संसद्मा कानुन नै चोरी हुने अवस्था देखिन्छ। संसद्मा आइएछ, तर केका लागि भन्ने लाग्न थालेको छ। यो सायद अनुभवको थकान वा व्यवस्थाप्रति बढ्दो असन्तुष्टि पनि हुन सक्छ,’उनले थपे।

कार्यक्रममा लेखक प्रकाश विकल्पको पुस्तक ‘एन्टिथेसिस’ को दोस्रो संस्करण सार्वजनिक गरिएको थियो। कार्यक्रममा नेपाली राजनीतिको रूपान्तरणबारे विविध धारणा व्यक्त गरिएका थिए।

भदौ ७, २०८२ शनिबार २०:३२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।