मन्दिरका एक सफाइकर्मी झोलामा मानव खोपडी बोकेर प्रहरी कार्यालय पुगेपछि...

मन्दिरका एक सफाइकर्मी झोलामा मानव खोपडी बोकेर प्रहरी कार्यालय पुगेपछि...
Anush Kottary/BBC

एजेन्सी : भारतको कर्नाटक राज्यस्थित धार्मिक नगर धर्मस्थलमा शताब्दीऔँ पुरानो मञ्जुनाथ स्वामी मन्दिरमा काम गर्ने सफाइकर्मीले गरेका सनसनीपूर्ण दाबीपछि विवाद चर्किएको छ।

करिब दुई दशकसम्म मन्दिरमा सफाइकर्मीको रूपमा काम गरेका उनले सयौँ युवती तथा बालिकामाथि बलात्कारपछि हत्या गरी आफूलाई जबरजस्ती शव गाड्न लगाइएको आरोप लगाएका थिए। सो दाबी सार्वजनिक भएपछि राज्य सरकारले विशेष अनुसन्धान टोली गठन गरेर छानबिन सुरु गरेको थियो।

तर शनिबार बिहान अनुसन्धान टोलीका एक अधिकारीले बीबीसीसँग कुरा गर्दै ती व्यक्तिलाई ‘झूटो बयान’ को आरोपमा पक्राउ गरिएको पुष्टि गरेका छन्।

गत जुलाईमा उनले प्रहरीमा उजुरी दर्ता गर्दै बयान दिएका थिए। उनले उजुरी दर्ता गर्दा १९९५ देखि २०१४ सम्म मन्दिरमा काम गरेको र सो अवधिमा आफूलाई जबरजस्ती शव गाड्न लगाइएको बताएका थिए। 

उजुरी दर्ता गर्ने क्रममा उनले आफ्नै झोलाबाट एउटा मानव खोपडी निकाल्दै प्रमाणका रूपमा प्रस्तुत गरेका थिए।

तर अनुसन्धान टोलीले खोपडी र हाडका टुक्रा ती घटनास्थलबाट ल्याइएको नभएको निष्कर्ष निकालेको छ। यसबीच एसआईटीले धर्मस्थल आसपासका १३ स्थानमा उत्खनन् गर्दा दुई ठाउँमा मानव अस्थि र खोपडी फेला परेको पुष्टि भएको छ। ती नमूनालाई परीक्षणका लागि फरेन्सिक प्रयोगशालामा पठाइएको छ।

मन्दिरका प्रमुख प्रशासक वीरेंद्र हेग्गडेले सफाइकर्मीका दाबीलाई “पूर्ण रूपमा गलत र असम्भव” भन्दै अस्वीकार गरेका छन्। साथै उनले सरकारको अनुसन्धान निर्णयलाई स्वागत गर्दै सत्य बाहिर आउनुपर्ने बताए।

हेग्गडे भारतको माथिल्लो सदनका सांसदसमेत हुन् र २०१५ मा उनलाई पद्म विभूषण पदक प्रदान गरिएको थियो।

सफाइकर्मीको दाबीले कर्नाकट राज्यमै ठूलो राजनीतिक बहस समेत उत्पन्न गरेको छ। हाल सत्तारूढ कांग्रेस सरकारले छानबिनलाई अघि बढाइरहेको छ भने विपक्षी भाजपाले यसलाई हिन्दू धार्मिक स्थलमाथिको “बदनाम गर्ने प्रयास” भनेको छ।

(बीबीसीबाट अनुवाद )

भदौ ७, २०८२ शनिबार २०:०६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।