लिम्पियाधुरा सीमा समस्यालाई चाणक्यको परराष्ट्र सूत्रमा राखेर हेर्दा...

इशापूर्वको चौथो शताब्दीमा जन्मिएको मानिने विष्णु गुप्त अनि कौटिल्यको नामले परिचित चाणक्यको पुस्तकको शीर्षक 'अर्थशास्त्र' भए पनि यसमा राज्य सञ्चालन र कूटनीतिबारे पनि उत्तिकै महत्त्वपूर्ण रणनीति उल्लेख छ।
आफ्नो चेला चन्द्र गुप्त मौर्यलाई सम्राट् बनाएर महामन्त्रीसम्म बनेका उनलाई पूर्वीय राजनीतिशास्त्रमा निकै सम्मानका साथ हेरिन्छ। १५ अध्याय रहेको यो पुस्तकमा एक अध्याय छ परराष्ट्र नीति।
मण्डल सिद्धान्तसमेत भनिने यसमा आफ्नो राज्यलाई कसरी बलियो बनाउने भन्ने उपायहरू सुझाएका छन् उनले।
त्यसमध्ये दुई महत्त्वपूर्ण बुँदा हो आफ्नो वरिपरिका राज्यसँगको सम्बन्ध र छिमेकीसँगको सम्बन्धबारे उनको धारणा। आफ्ना वरिपरिका राज्यबारे उनको धारणा छ "प्रत्येक राज्यलाई आफ्नो वरिपरिको राज्यसँग सम्बन्ध राख्नुपर्छ।"
दोस्रो "नजिकैको छिमेकी प्रायः शत्रु हुन्छ, र नजिकैको छिमेकीको शत्रु भने मित्र हुन्छ।"
उनको यी दृष्टिकोणलाई नेपालको परराष्ट्र नीतिसँग दाँजेर हेर्ने हो भने हाम्रो परराष्ट्र नीतिमा भएको चुक प्रस्ट देखिन्छ।
पहिलो हामीले कमसेकम दक्षिण एसियाली मुलुकहरूलाई आफ्नो वरिपरीको देशको रूपमा लिन सक्छौ र भारतबाहेक अन्य देशसँगको हाम्रो सम्बन्ध केवल औपचारिकतामा खुम्चिएको छ।
कूटनीतिक सम्बन्ध हेर्दा नेपालका प्रधानमन्त्री चीन र भारत जान जति हतारिन्छन् पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्सको भ्रमणमा जान उत्तिकै उदासीन देखिन्छन्। शरणार्थी समस्यापछि बिग्रिएको भुटानसँगको सम्बन्ध अझै सुध्रिएको छैन।
नेपालमा आयोजना भएको सार्क शिखर सम्मेलनबाहेक अन्य सामान्य अवस्थामा यी देशका सरकार प्रमुख पनि बिरलै नेपाल भ्रमणमा आएका छन्।
अर्थात् हाम्रो नजिकको देशसँगको सम्बन्ध केवल कागजी कुटनीतिमा मात्र समेटिएको छ। यसको प्रभाव हामी अन्तर्राष्ट्रिय रूपमा कहिँकतै समर्थन खोज्ने अवस्थामा पुगे आफ्नै क्षेत्रमा तत्काल सहयोगी देश पाउन मुस्किल छ।
यसरी चाणक्यको नजिकका देशसँग राख्नुपर्ने सम्बन्धको सूत्रसँग नेपालको परराष्ट्र नीति र व्यवहार दाँज्ने हो भने हामी पूर्ण असफल देखिन्छौं।
दोस्रो सूत्र हो नजिकको छिमेकी प्राय दुश्मनै हुन्छन्। सीमा जोडिएको आधारमा भारत र चीन हाम्रो छिमेकी देश हुन्। तर नजिकको छिमेकी भारत।
भारतले नेपाललाई गर्दै आएको व्यवहार हेर्ने हो भने उनीहरूको स्वार्थ मिलेको विषय बाहेकको अवस्थामा भारत नेपालको असल मित्र बन्न सकेको छैन।
सिधै भन्दा भूगोल, भाषा र संस्कृतिको समानताका कारण भारतसँग जनस्तरमा एक खालको बलियो सम्बन्ध देखिन्छ। तर परराष्ट्र नीति र व्यवहार हेर्ने हो भने उत्तिकै कमजोर।
सरकार प्रमुखहरूको सम्बोधनमा "भारत हाम्रो असल मित्र" भनिए पनि व्यवहारमा उत्तिकै खराब मित्र देखिन्छ।
बेलायती उपनिवेशबाट आफू मुक्त भए पनि भारतका शासक साम्राज्यवादी सोचबाट मुक्त हुन सकेका छैनन्।
हिजो १९५० को शान्ति तथा मैत्री सन्धिको आधारमा नेपाललाई आफ्नो सुरक्षा छातामा राख्न खोज्ने घटनादेखि सिक्किम बनाउने असफल रणनीतिसम्मले त्यही पुष्टि गर्छ।
त्यसैको निरन्तरतालाई चीनसँग हतियार किनेको बहानामा २०४५ बाट लागेको करिब १५ महिने नाकाबन्दी अनि आफूले भने अनुसार संविधान नबनाएको रिसमा २०७२ मा लगाएको पाँच महिने नाकाबन्दीलाई हेर्न सकिन्छ।
भारतको शासक बदलिएर लालबहादुर शास्त्रीबाट नरेन्द्र मोदीसम्म आइपुगे पनि उनीहरूको सोच र रणनीति बदलिएको छैन।
नत्र भारतसँगै रहेका प्रमाण, नेपाल र तत्कालीन बेलायती शासकबीच भएको सन्धि, नक्साहरू अनि सम्झौताहरूले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भू-भाग हो भन्ने प्रस्ट हुँदाहुँदै पनि सिधै झूट बोल्दै "नेपालको हक लाग्दैन" भन्ने हिम्मत गर्दैनथ्यो।
कालापानी अनि लिम्पियाधुराको भूभाग सामरिक र व्यापारिक रूपमा नेपालका लागि कति महत्त्वपूर्ण छ अनि भारतका लागि कति महत्त्वपूर्ण छ त्यो फरक विश्लेषणको पाटो भयो।
हामी हाम्रो सीमाबारे कतिसम्म सचेत छौँ र हाम्रो प्रशासनले कतिसम्म प्रभावकारी काम गर्छ भन्ने महत्त्वपूर्ण पक्ष हो। त्यो हाम्रो नक्साबाट एकाएक लिपुलेक र लिम्पियाधुरा गायब भएबाटै देखियो नै।
जब राष्ट्रिय नक्सामै आफ्नो भूभाग हुन्न भने त्यो क्षेत्रमा नेपालको प्रशासनिक र राजनीतिक पहुँचको अवस्था कस्तो होला!
जहाँ देशको प्रशासनिक र राजनीतिक पहुँच हुन्न त्यो भूभाग नक्सामा मात्र थपेर सीमा भित्र थपिन सम्भव छ र!
परराष्ट्र नीतिबारे सामान्य जानकारले पनि थाहा पाउने तथ्य हो यसको प्रारम्भ नै राष्ट्रिय स्वार्थबाट भएको हो। युद्दकालमा सुरक्षाको स्वार्थ होला, आर्थिक उदारीकरणको बेलामा आर्थिक स्वार्थ होला।
शिक्षा,स्वास्थ्य,रोजगार, सीप, ज्ञानको आदानप्रदान पनि राष्ट्रिय स्वार्थ बन्न सक्छन्। तर कुटनीतिलाई स्वार्थबाट अलग राखेर न व्याख्या सम्भव छ न विश्लेषण।
नेपालसँग भारतको स्वार्थ हिजो विश्व मञ्चमा पहिचानहीन बनाइराख्नु थियो। तर संयुक्त राष्ट्र सङ्घको सदस्यता र अन्य देशसँगको सम्बन्धले त्यो सम्भव भएन।
आफ्नो सुरक्षा छाताबाट बाहिरिन नदिने, विश्व मञ्चमा आफ्नो धारणा विपरीत हिँड्न नदिने र चीनलाई तर्साइरहने हतियारको रूपमा नेपाल प्रयोग भइरहेको छ भारतको हितमा।
सँगै नेपालको प्रचुर आर्थिक सम्भावना रहेको जलस्रोतमा एकाधिकार, आफ्नो देशसँग आश्रित आर्थिक नीति बनाउन लगाउनु पनि उसको स्वार्थ हो भन्ने प्रस्ट देखिन्छ।
सबैभन्दा जटिल स्वार्थ सुरक्षा र आर्थिक स्वार्थमा छ नै। यसमा नेपाल जकडिएकै छ। अब यसमा कालापानी अनि लिपुलेक प्रकरणले उसको सीमाको स्वार्थ पनि जकडिएर गम्भीर बन्दै गइरहेको छ।
चाणक्यकै अर्को सूत्र देशको शत्रु आफ्नो मित्र हुन्छ।
धार्मिक र सुरक्षाका दृष्टिकोणमा पाकिस्तान र भारत एक अर्काको कट्टर दुस्मन हुन्। चीनसँग सीमा लगायतका विवादले सम्बन्ध सुमधुर बन्न सकेको छैन।
भारतसँगको शक्ति सन्तुलनको दृष्टिले पाकिस्तान या चीनसँगको हाम्रो मित्रताले काम गर्न सक्छ। तर हाम्रो राष्ट्रिय स्वार्थ र शक्तिका आधारमा पाकिस्तानसँगको सुमधुर सम्बन्धले हामीलाई सुरक्षा जोखिममा धकेल्न सक्छ।
यस्तो अवस्थामा भारतसँगको शक्ति सन्तुलन, सुरक्षा र आर्थिक रणनीतिका लागि छिमेकी देशको उपयोगमा हाम्रा लागि चीन नै सबैभन्दा उत्तम देश हो।
यसको प्रयोग नयाँ पनि हैन। जब जब भारतसँग हाम्रो सम्बन्ध अति बिग्रिएको हुन्छ त्यो बेलामा हामी एकाएक चीनसँग नजिक भइहाल्छौँ।
२०७२ को नाकाबन्दीको समयमा इन्धनदेखि व्यापारसम्मका लागि चीनसँग भएको सम्झौता, एकाएक बढेको महत्त्वपूर्ण भ्रमणभित्रको मूल रणनीति यही नै थियो।
बन्दरगाहको उपयोगदेखि चीनको इन्धन नेपाल ल्याउन सडक मार्गको निर्माणसम्मको सम्झौता भयो। तर जब भारतले नाकाबन्दी हटायो ती सबै ओझेलमा परे।
भौतिक संरचना निर्माणको दृष्टिले भारतिर जति सहज छ चीनतिर सहज छैन। तर असम्भव त हैन। चीनतिरको नेपाल-चीनको सीमा नाकाको भौतिक संरचना हेर्दा चीनले केवल सम्झौता मात्र गर्छ भन्ने अवस्था पनि छैन।
बिजोग नेपालतिरको भौतिक संरचनाकै हो। हामीले बनाउन नसक्ने पनि हैन, जानाजान नबनाएका हौँ। यो हाम्रो स्वार्थमा भएको पनि हैन उहीँ भारतीय स्वार्थ नै हो। हामीलाई हाम्रो राष्ट्रिय स्वार्थको भन्दा भारत अनि तिब्बत मामिलामा अमेरिका लगायतको पश्चिमा राष्ट्रको स्वार्थ बढी प्रिय छ। यही हाम्रो चुक हो।
हामीले चीनलाई सहयोगी र असल मित्रको रूपमा भन्दा बढी भारत धम्क्याउने कार्डको रूपमा प्रयोग गर्छौ। जबसम्म भारतको प्रिय हुन्छौ, चीन बिर्सन्छौं। जब भारतले सङ्कटमा पार्छ चीन सम्झन्छौं।
भन्नलाई पञ्चशीलको आधारमा असंलग्न परराष्ट्र नीति त भन्छौँ तर हाम्रो व्यवहार भने एकाङ्गी भारत आश्रित छ। परराष्ट्र सम्बन्धमा अमेरिकाजस्तो शक्तिशाली देशसँग प्रतिस्पर्धा गरिरहेको चीनका कुटनीतिज्ञहरू यति पनि जानकार नहोलान् र!
नेपालसँगको सम्बन्धमा चीनको राष्ट्रिय स्वार्थ नहुने प्रश्नै छैन। उसको सबैभन्दा ठूलो समस्या नै तिब्बत हो अहिले पनि। अनि तिब्बतसँग जोडिएको नेपाली सीमाले नेपालबाट टाढा जान सकेको छैन चीन।
नेपालले चीनको सुरक्षा स्वार्थमा काम नगरे तिब्बतको आन्तरिक शान्तिमा प्रभाव पर्नसक्ने जोखिम छ। त्यसमा नेपालमा रहेका तिब्बती शरणार्थीको सक्रियता पनि एक कारण हो।
बदलिँदो कूटनीतिक रणनीतिसँगै चीन नेपाललाई आफ्नो अन्तर्राष्ट्रिय रणनीतिको साझेदार बनाउन चाहन्छ। अन्तर्राष्ट्रिय मञ्चमा नेपाल आफ्नो अजेण्डामा उभियोस् भन्ने चाहन्छ। सानै उपभोक्ता भए पनि बजार पनि हेर्ने नै भो चीनले। यी नै स्वार्थ हुन् चीनको।
एक चीन नीति र तिब्बती मामिलामा केही सन्तोषजनक सम्बन्ध भए पनि चीनको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वार्थमा नेपालले विश्वासिलो व्यवहार गर्न सकेको छैन चीनसँग।
लिपुलेक र लिम्पियाधुरा नाकाबारे चीन-भारतका परराष्ट्रमन्त्रीबीच भएको सहमतिमा चीन सहमत हुनुको कारण यी नै हुन्। दुई देशबीच विवादको विषयमा शक्तिशाली तेस्रो देशको प्रवेश असल छिमेकीको संकेत हैन। तर जति सहयोगी बने पनि नेपाल अन्तमा भारतीय स्वार्थमै चल्छ भने आफ्नो सीमा समस्या समाधानको पहलमा उनीहरूबीचको सीमा विवादमा भारतसँग किन निहुँ खोज्नु भन्ने निष्कर्षमा चीन पुगेको देखिन्छ।
त्यसमा लिपुलेकहुँदै खुल्ने मार्गले भारतसँगको सडकमार्ग सहज बनाउँदा विशाल उपभोक्ता बजार पाइने, कैलाश मानसरोवरमा लाखौँ भारतीय पर्यटक जाँदा आर्थिक गतिविधि पनि बढ्ने। चीनलाई के नै घाटा छ र! तर यो हाम्रो लागि शुभ संकेत त हैन।
अन्त्यमा चाणक्यले परराष्ट्र सम्बन्धका लागि बताएको ६ वटा रणनीति र भारतसँगको सीमा विवाद समस्या समाधानको उपायबारे हेरौँ।
पहिलो सन्धि र संवादै हो। कूटनीतिक संवादमार्फत तथ्य र प्रमाणको आधारमा समस्या समाधान गर्न सकिन्छ। तर भारत कालापानी, लिपुलेक र लिम्पियाधुरामा नेपालसँग सीमा विवाद छ भन्ने स्वीकारै गर्दैन। यसमा उसको प्रस्ट सामरिक सुरक्षा र चीनसँगको व्यापारिक स्वार्थ जो लुकेको छ।
दोस्रो हो विग्रह अर्थात् युद्ध। भारतसँग भौतिक वा कूटनीतिक युद्धमार्फत बल प्रयोग गरेर आफ्नो भू-भाग सैन्य नियन्त्रणमा लिन सम्भव छ र! हाम्रो सामर्थ्य छ?
तेस्रो हो आसन। अर्थात् अनुकूल वातावरण नबनेसम्म पर्खने। चौथो हो याना अर्थात् सैन्य अभियान वा तयारी, पाँचौँ हो संश्रय अर्थात् अतिक्रमित भूमि लिन शक्तिशालीको सहयोग लिनु। र अन्त्यमा द्वैधभाव अर्थात् एकै समयमा मित्रता र द्वन्द्व दुवै प्रयोग गर्नु।
भन्नलाई नालापानीमा जस्तै खुकुरी बोकेर कालापानी जाउँ नि भन्न सकियो तर नेपालको वर्तमान शक्ति संरचना र कूटनीतिक क्षमता अनुसार अहिले कालापानी, लिपुलेक र लिम्पियाधुरा समस्या समाधान गर्न अनुकूल समय नबनेसम्म पर्खनु र एकै समय मित्रता र द्वन्द्व दुवैको प्रयोग बाहेक अन्य विकल्प देखिन्न।
भदौ ७, २०८२ शनिबार १९:४९:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।