स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्ग स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्ग स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

एजेन्सी : अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ वटा स्टारलिङ्ग स्याटेलाइटहरू कक्षमा पठाएको छ।

स्पेसएक्सका अनुसार यी स्याटेलाइटहरू ‘फाल्कन–९’ रकेटमार्फत क्यालिफोर्नियाको भ्याण्डेनबर्ग स्पेस फोर्स बेसबाट बिहान १०ः०४ बजे (स्थानीय समय अनुसार) सफलतापूर्वक प्रक्षेपण गरिएको हो।

‘फाल्कन-९’ एक पुनःप्रयोग गर्न मिल्ने रकेट हो, जसलाई अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले कृत्रिम उपग्रह प्रक्षेपण, अन्तरिक्षयान पठाउने र अन्तरिक्ष यात्रीहरूको ढुवानीका लागि विकास गरेको हो। यो रकेटलाई पृथ्वीको कक्षा र त्यसभन्दा परका गन्तव्यहरूमा उपयोगी सामग्री पुर्याउन प्रयोग गरिन्छ।

यसको मुख्य विशेषता भनेको यसको पहिलो चरण (बुस्टर) भागलाई सफलतापूर्वक पृथ्वीमा पुनः अवतरण गराई फेरि प्रयोग गर्न सकिने प्रविधि हो, जसले प्रक्षेपण लागत उल्लेख्य रूपमा घटाउने काम गरेको छ। 

स्पेसएक्सका अनुसार, स्टारलिङ्ग परियोजनाले ती स्थानहरूमा उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्ने लक्ष्य राखेको छ, जहाँ हालसम्म इन्टरनेट पहुँच अस्थिर, महँगो वा पूर्ण रूपमा अनुपलब्ध रहेको छ।

भदौ ७, २०८२ शनिबार १९:२२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।