ओलम्पिक कमिटी विवाद: श्रेष्ठ समूहले स्पष्टीकरण सोधपछि प्रधान समूहले भन्यो- भ्रम छर्ने गतिविधि नरोके कानुनी उपचार खोज्छौ

काठमाडौं : ध्रुब बहादुर प्रधान समूहको नेपाल ओलम्पिक कमिटी तदर्थ समितिले जीवनराम श्रेष्ठ समूहलाई खेल क्षेत्रमा भ्रम सिर्जना गर्ने गतिविधि नगर्न चेतावनी दिएको छ। प्रधानको संयोजकत्वमा तदर्थ समितिले यस्तो काम बन्द नगरे कानुनी उपचार खोज्न बाध्य हुने विज्ञप्ति मार्फत चेतावनी दिएको हो।
शुक्रबार श्रेष्ठसहितको समूहले भदौ ६ गते बैठक बसेर विभिन्न निर्णय गर्दै ओलम्पिक कमिटिको नाममा विज्ञप्ति जारी गर्दै तदर्थ समितिका नौजना सदस्यलाई स्पष्टीकरण सोधेपछि विवाद चुलिएको छ। प्रधान समूहको तदर्थ समितिका प्रवक्ता समिम मियाँ अन्सारीका अनुसार श्रेष्ठ समूहको कदम गैरकानूनी, अनैतिक र संघ-संस्था तथा पदाधिकारीहरूको मानमर्दन गर्ने खालको छ।
‘संविधान र कानुन बमोजिम हामीले नै वैध रुपमा जिम्मेवारी सम्हालेका छौँ। जीवनराम श्रेष्ठ समूहको विज्ञप्तिले खेल क्षेत्रमा भ्रम सिर्जना गरेको छ। यस्ता गतिविधि नगरेमा कानुनी उपचार खोज्न हामी बाध्य हुन्छौँ,’ विज्ञप्तिमार्फत चेतावनी दिइएका छ।
नेपाल ओलम्पिक कमिटीको नेतृत्वबारे देखिएको दुईपक्षीय विवादले खेलाडी र खेल संघहरू अन्योलमा परेका छन्।
भदौ ७, २०८२ शनिबार १७:४६:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।