डा. सुमनबाबुको उपचार अनुभव : परिवारले माया मारेको २१ वर्षीय युवा शल्यक्रियापछि जब ठिक भए...

डा. सुमनबाबु मरहट्टा अर्थोपेडिक तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ हुन्। हाडजोर्नीसँग सम्बन्धीत समस्या भएका बिरामीको आवश्यकता अनुसार औषधि उपचार गर्नु अनि जोर्नी प्रत्यारोपण गर्नु उनको दैनिकी हो। उनै डा. सुमनबाबुले चिकित्सकीय पेशाको शिलशिलामा देखे भागेका अनुभव उकेरासँग साटेका छन्।
दुर्घटनामा परेकी घाइतेको हिपबाट पैतालासम्म छाला सोहोरिएको अवस्था
घटना करिब दुई वर्ष अघिको हो। करिब ५० वर्षकी महिलालाई अस्पताल पुर्याइयो। ती महिला स्कुटर चलाउँदा दुर्घटनामा परिछन्।
दुर्घटनामा परेर ती महिला सडकमा केही परसम्म घिसारिइछन्। घिसारिएर देब्रे भागको हिप भन्दा तल खुट्टाको वरिपरीको पूरै छाला सोहोरिएर पिँडुला भन्दा तल पैतालासम्म पुगेछ।
मोजा खोलेजस्तै गरी उल्टो भएर छाला सोहोरिएर खुट्टाको तल पैतालासम्म पुगेको थियो। छाला नै सोहोरिएकाले खुट्टाको पूरै मांसपेशी छियाछिया भएको देखिन्थ्यो।
केही घण्टाको उपचारपछि ती महिलालाई थप उपचारका लागि डा. सुमनबाबु कहाँ रिफर गरिएको रहेछ। डा. सुमनबाबुको टिमले ती घाइते महिलाको अवस्था हेर्यो। पहिलो कुरा त घाइतेको खुट्टा नै बचाउन सम्भव हुन्छ की हुँदैन भन्ने बडो ठूलो समस्या देखियो। सोहोरिएको छाला बचाएर खुट्टा बचाउन निक्कै चुनौतीपूर्ण थियो।
मेरुदण्डलाई खुट्टासँग जोड्ने तल्लो पेट र माथिल्लो जाँघको बीचका हड्डी (पेल्भिस) थोरै भाँचिएको थियो।
‘पेल्भिस’ले शरीरको माथिल्लो भागको तौलको भार बोक्नुकासाथै शरीरको भारको सन्तुलन राख्न र हिँडडुल गर्न सहयोग पुर्याउँछ। यसले पिसाब थैली, प्रजनन अंगहरू, ठूला आन्द्रा र मलद्वारलाई सुरक्षित राख्न मद्दत पुर्याउँछ।
घाइतेका आफन्तलाई उपचारको चुनौतीको विषयमा जानकारी दिएर उनको टिमले ती घाइतेको खुट्टा बचाउने कोसिस गर्न उपचार सुरु गर्यो। शल्यक्रियाका लागि सबै तयारी गरियो।
डा. सुमनबाबुको टिमले ती घाइतेको सोहोरिएको छाला पूर्ववत अवस्थामा फर्काएर छाला अनि खुट्टा बचाउनका लागि शल्यक्रिया सुरु गर्यो। चिकित्सकको टिमले शल्यक्रिया गरेर सोहोरिएको छाला पूर्ववत् अवस्थामा फर्काउँदै टाँस्यो।
केही छाला त बचाउन सम्भव भएन। छाला नबचेको भागमा प्लाष्टिक सर्जनको टिमले अर्को खुट्टाको छाला ल्याएर टाँसेको र पटक पटक शल्यक्रिया गर्नुपरेको उनले सुनाए। शल्यक्रिया सफल भयो। टाँसिएको छालाको घाउ बिस्तारै कम हुँदै गयो।
धन्य, चिकित्सकको टिम ती घाइतेको खुट्टा बचाउन सफल भयो। ती घाइतेलाई लामो समय आइसीयुमा राखेर उपचार गर्नुपरेको उनी सम्झन्छन्।
करिब दुई महिनाको अस्पताल बसाइपछि बिरामी ठिक भएर घर फर्किइन्। अहिले पनि ती व्यक्ति बेलाबेलामा हिँडेर नै फलोअपमा आउने गरेको उनले सुनाए।
अहिले त ती महिलाको खुट्टामा समस्या नरहेको उनले सुनाए। चुनौतीपूर्ण अवस्थाको ती महिलाको त्यो खुट्टा बचाएको सम्झँदा भने उनलाई निक्कै आनन्द लाग्छ।
परिवारले माया मारेका युवा ठिक भएपछि...
एक जना युवाको हिपको जोर्नी प्रत्यारोपण गरेपछिको प्रसंग पनि डा. सुमनबाबु भुल्दैनन्।
प्रसंग करिब पाँच वर्ष अघिको हो। करिब २१ वर्षका एक जना युवालाई अस्पताल पुर्याइएको थियो।
ती युवा लामो समयदेखि ‘एन्काइलोजिङ स्पन्डिलाइटिस’ नामक बाथसम्बन्धी रोगले थला परेका रहेछन्। बाथ सम्बन्धी समस्याका कारण ती युवाका दुवैतर्फका हिपमा समस्या हुँदा सामान्य हिँडडुल पनि गर्न नसकेर थला परेका थिए। उठेर बस्न त परै जाओस् ओछ्यानमा थला परेका ती युवा हलचल गर्न पनि नसक्ने अवस्थामा पुगेका थिए।
ती युवा अब काम लाग्दैनन् की भनेर परिवारले पनि आशा मारिसकेका थिए। एक दिन एक जना सिनियर चिकित्सकले ती बिरामी युवाको उपचारका लागि सल्लाह गर्न डा. सुजनबाबुलाई बोलाए। उनी त्यहाँ गएर ती युवाको समस्याको अवस्था हेरे। उनको दुवै हिप बिग्रिएर जटिल बनिसकेको थाहा पाए।
त्यसपछि डा. सुमनबाबुले थला परेका युवालाई अस्पतालमा बोलाए। ती युवाको हिपको जोर्नी प्रत्यारोपण नै गर्नुपर्ने अवस्था थियो। अनि उनको टिमले हिपको जोर्नी प्रत्यारोपणका लागि शल्यक्रिया नै गर्यो।
शल्यक्रिया सफल भयो। शल्यक्रिया गरेको केही दिनमा नै ती युवा बैसाखीको सहायताले हिँडडुल गर्न थालिहाले। अनि केही समयको उपचारपछि ती युवा ठिक भएर डिस्चार्ज भए।
केही महिनापछि तीनै युवा ठमठम हिँडेर फलोअपका लागि अस्पताल आएको डा. सुमनबाबुले सम्झिए। त्यसरी थला परेका युवा हिपको जोर्नी प्रत्यारोपणपछि ठमठम हिँडेर नै खुसी हुँदै फलोअपमा आएको देख्दा उनलाई पनि निक्कै आनन्द लाग्यो नै।
ती युवाले हिपको जोर्नी प्रत्यारोपण गरेपछि विवाह पनि गरेछन्। उनी सबैजसो दैनिक काम गर्न सक्ने भए। परिवारले समेत माया मारिसकेका ती युवा ठिक भएको डा. सुमनबाबुले सुनाए।
यसरी ह्वीलचियरमा अस्पताल पुगेर उपचारपछि ठिक भएर ठमठम हिँड्दै धेरै बिरामी घर फर्किएको सम्झन्छन्, उनी।
‘डाक्टरले विश्वास दिलाए बिरामीसँग समस्या हुँदैन’
डा. सुमनबाबुले डाक्टर र बिरामीबीचको सम्बन्धमा दरार आउने कारणको विषयमा पनि अनुभव सुनाए। कतिपय बिरामी र डाक्टरबीचको सञ्चारको खाडल (डाक्टर पेशेन्ट कम्युनिकेशन ग्याप)का कारण द्वन्द्व निम्तिने गरेको डा. सुमनबाबुले सुनाए। डाक्टर र बिरामी पक्षबीच राम्रोसँग कुराकानी र संवाद भएको खण्डमा विश्वसनीयता बढ्ने उनको बुझाइ छ।
डाक्टर र बिरामी दुवै पक्षमा इमान्दारिता र विश्वास भए द्वन्द्व नै नहुने उनले सुनाए। डाक्टरले बिरामीलाई ‘इमान्दारिताका साथ उपचार सेवा दिइरहेको छु’ भन्ने विश्वास दिलाउन सकेको खण्डमा बिरामीले डाक्टरलाई पनि अप्ठेरो पार्छन् जस्तो लाग्दैन डा. सुमनबाबुलाई। डाक्टर र बिरामीको आत्मा जोडिन सक्यो भने धेरै हदसम्म बिरामी ठिक हुने उनको बुझाइ छ।
त्यसैले डाक्टर र बिरामी तथा बिरामीपक्षबीच सुमधुर सञ्चार आवश्यक हुने उनको सुझाव छ।
त्यसो त नेपालीको सोधखोज तथा कुराकानी गर्ने किसिमको स्वभाव भएकाले कुराकानीबाट नै समस्याको समाधान गरेको खण्डमा डाक्टर र बिरामीबीचको द्वन्द्वको जोखिम कम हुने उनको तर्क छ।
कुनै पनि चिकित्सकले आफूले उपचार गरेका बिरामी ठिक नहोस् भनेर नसोच्ने उनले सुनाए। तर, काम गर्दै जाँदा कहिले कहीँ त्रुटि नहुने भन्ने हुँदैन।
बिरामीको रोगको प्रकृति लगायतका कारण चिकित्सकले उपचार गरेका शत प्रतिशत बिरामी ठिक हुन्छन् नै भन्ने एकिन हुँदैन। चिकित्सकले यो सन्देश बुझाउन जरुरी रहेको डा. सुमनबाबुको सुझाव छ।
गोरखामा जन्म, काठमाडौंबाट एसएलसी
गोरखाको हालको पालुंटार नगरपालिका वडा नम्बर-२, दार्मीचौरमा २०३७ मा जन्मिएका सुमनबाबुका बुवा सरकारी विद्यालयका प्राध्यानाध्यापक थिए। उनका बुवाले लामो समयसम्म स्थानीय जनता मावि (आँपपिपल)मा पढाए। सुमनबाबुले पनि सात कक्षासम्म त्यहीँ पढे।
तर, उनका बुवा सरकारी विद्यालयको जागिर छोडेर काठमाडौं आएछन्। अनि सुमनबाबु पनि बुवासँग काठमाडौं नै आएर सिद्धार्थ वनस्थली विद्यालयमा आठ कक्षमा भर्ना भएर पढ्न थाले। त्यो बेला त्यहाँ भर्ना हुन पनि निक्कै कठिन थियो।
उनका बुवा अंग्रेजी विषयकै शिक्षक थिए। तर, चार कक्षामा पुगेर ‘ए, बी, सी डी...’ पढेका सुमनबाबुलाई काठमाडौंमा आउँदासम्म अंग्रेजी विषय निक्कै कठिन लाग्थ्यो। उनले अंग्रेजी जान्न अंग्रेजी भाषाका कथाको नेपाली अर्थ खोज्दै बुझ्दै पढे।
दिनरातको अथक मेहनतपछि भने यो विषयमा राम्रो अंक आएको उनी सम्झन्छन्। उनले सिद्धार्थ बनस्थलीबाटै २०५२ मा प्रथम श्रेणीकासाथ एसएलसी गरे। उनले त्यहीँबाट अब्बल अंककासाथ विज्ञान विषयमा आइएससी गरे।
बुवाको इच्छा छोरालाई डाक्टर बनाउने थियो। उनलाई पनि डाक्टर बन्ने नै इच्छा भयो। त्यसैले सुमनबाबुले एमबीबीएस अध्ययनका लागि छनोट परीक्षा दिए। सुरुमा छनोट भएनन्। तर, करिब ९ महिना दैनिक १४ घण्टासम्म एमबीबीएस अध्ययनको छनोट परीक्षाका लागि पढेको सम्झन्छन्, उनी।
त्यसपछि सुमनबाबुले छनोट परीक्षा दिए। दोस्रो पटकमा भने उनी छनोट मात्रै भएनन्। सरकारी पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने मौका पाए। अनि काठमाडौँ विश्वविद्यालय अन्तर्गतको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा सन् १९९९ मा एमबिबिएस अध्ययनका लागि भर्ना भए। उनले वीर अस्पताल, कान्ति बाल अस्पतालमा इन्टर्नसिप गरे।
सन् २००४ मा उनको एमबिबिएस पूरा भयो। एमबीबीएस अध्ययनपछि डा. सुमनबाबुले करिब दश महिना धुलिखेल अस्पताल र केही महिना स्टार अस्पतालमा काम गरे।
उनले धुलिखेल अस्पतालको आकस्मिक कक्षमा काम गरेका थिए। त्यहाँ काम गर्दा विशेषगरी सवारी दुर्घटना अनि रुख तथा भीरबाट लडेर घाइते भएर अस्पताल पुगेका सयौं बिरामीको उपचार गरेको उनले अनुभव सुनाए।
त्यसैगरी विष सेवन गरी आत्महत्याको प्रयास गरेका पनि धेरै जना बिरामी अस्पताल पुगेको सम्झन्छन्, उनी।
त्यहाँ दुर्घटनामा परी घाइते भएका धेरै बिरामीको उपचार गर्दा नै उनले थप अध्ययनमा अर्थोपेडिक (हाडजोर्नी) र मेडिसिनमध्ये एउटा विषय पढ्ने सोचे। तर, यी विषयको सट्टा उनी सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शास्त्रको स्नातकोत्तर तहमा ‘एनेस्थेसिया’ विषयमा एमडी अध्ययनका लागि भर्ना भए।
तर, उनलाई त्यो विषय पढ्न नै मन लागेन। त्यसैले केही महिना पढेर उनले त्यो विषय छोडे।
जोर्नी प्रत्यारोपणमा चासो र निजामतीमा जागिर
डा. सुमनबाबुले पुनः स्टार अस्पतालमा काम गर्दै आफूले चाहेकै विषय अध्ययन गर्ने अठोट लिएर छनोट परीक्षको तयारी गरे। अनि परीक्षा दिए। नभन्दै उनी छनोट भएर सन् २००९ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा चिकित्सा शास्त्रको स्नातकोत्तर तहको ‘अर्थोपेडिक सर्जरी’ विषयमा ‘एमएस’ अध्ययन थाले। सन् २०१२ मा एमएस अर्थोपेडिक सर्जरी विषयको अध्ययन पूरा भयो।
एमएस अध्ययनपछि करिब डेढ वर्ष एउटा निजी र तत्कालीन भक्तपुर जिल्ला अस्पतालमा काम गरे। त्यसपछि सन् २०१४ मा डा. सुमनबाबु काठमाडौंको नायाँ बानेश्वर स्थित निजामती कर्मचारी अस्पतालमा काम गर्न थाले।
अस्पतालका स्थायी चिकित्सक उनी ११ वर्षयता निजामती कर्मचारी अस्पतालमा नै कार्यरत छन्। हाल उनी अर्थोपेडिक सर्जरी विभागको आर्थो प्लाष्टि युनिटमा सक्रिय भूमिकामा छन्।
डा. सुमनबाबुले सन् २०१७ मा भारत पुगेर विशेषगरी ‘हिप’ र ‘घुँडा’को ‘जोर्नी प्रत्यारोपण (ज्वाइन्ट रिप्लेस्मेन्ट एण्ड आर्थो प्लाष्टि)’ सम्बन्धी विषयमा फलोसिप गरी ज्ञान तथा सिप सिकेर फर्किए।
उनले सन् २०१९ मा पुनः भारत पुगेर यो विषयमा थप ज्ञान तथा सिप सिके। त्यसो त उनले अर्थोपेडिक सर्जरी र जोर्नी प्रत्यारोपण सम्बन्धी छोटो अवधिका अन्य धेरै तालिम पनि लिएका छन्।
डा. सुमनबाबु जोर्नीको समस्या भएर अस्पताल पुगेका बिरामीको औषधि उपचार अनी जोर्नी प्रत्यारोपणमा नै केन्द्रित भएर काम गर्छन्। त्यसो हाडजोर्नीसँग सम्बन्धीत समस्या भएर अस्पताल पुगेका बिरामीको औषधि उपचार गर्नु उनको जिम्मेवारी हो।
बचेको सय चिकित्सा विज्ञानसम्बन्धी खोज तथा अध्ययन र अनुसन्धान गर्नु उनको दैनिकी हो। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलनमा उनले कार्यपत्र प्रस्तुत गरेका छन्।
त्यसैगरी डा. सुमनबाबुले निजामती कर्मचारी अस्पतालमा ‘नेभिगेशन सिस्टम’ आधुनिक कम्प्युटर प्रविधिको सहयोगमा जोर्नी प्रत्यारोपण गरिरहेको सुनाए। यो प्रविधिको सहयोगमा सर्जरी तथा जोर्नी प्रत्यारोपण (आर्थोप्लाष्टि) गर्दा शल्यक्रिया असफल हुने जोखिम कम हुने उनले सुनाए।
डा. सुमनबाबुलाई थाहा भएसम्म शल्यक्रियाका लागि प्रयोग हुने यो प्रविधि निजामती कर्मचारी अस्पतालबाहेक नेपालका अन्य अस्पतालमा छैन।
हिप र घुँडाको जोर्नी प्रत्यारोपणमा केन्द्रित
डा. सुमनबाबु विशेष गरी घुँडा र हिपको जोर्नी प्रत्यारोपणमा बढी केन्द्रित हुन्छन्। शरीरका कुनै पनि अङ्गको प्रत्यारोपण (रिप्लेसमेन्ट) गर्नु जोर्नी प्रत्यारोपण हो।
जोर्नी प्रत्यारोपणमा घुँडा लगायतमा बिग्रिएका जोर्नी सफा गरेर कृत्रिम जोर्नी राखिन्छ। त्यसैगरी रोग वा कुनै चोटपटक जस्ता कारणले हिप तथा हिपको गेडि बिग्रिएको अवस्थामा कृत्रिम जोर्नी राखेर प्रत्यारोपण गरिने उनले सुनाए।
त्यसैगरी शरीरमा चोटपटक लागेको र हड्डी भाँचिएको जस्ता हाड जोर्नीमा भएका समस्याको औषधि र आवश्यकता अनुसार शल्यक्रिया गरी उपचार गर्नु डा. सुमनबाबुको दैनिकी हो।
तर, सबै बिरामीको जोर्नी प्रत्यारोपण जरुरी नहुने उनले सुनाए। अन्य उपचार विधिले ठिक नभएको खण्डमा मात्रै समस्याको प्रकृति हेरेर जोर्नी प्रत्यारोपण गरिने उनले सुनाए।
भदौ ७, २०८२ शनिबार १६:५६:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।