पहिरोका कारण बिहीबारदेखि अवरुद्ध कोशी राजमार्गको हुङ्गुङ खण्ड अझै खुल्न सकेन

पहिरोका कारण बिहीबारदेखि अवरुद्ध कोशी राजमार्गको हुङ्गुङ खण्ड अझै खुल्न सकेन
Filephoto

सङ्खुवासभा : कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको ठूलो पहिरोका कारण विगत तीन दिनदेखि सडक अवरुद्ध छ। 

खाँदबारीदेखि किमाथाङ्का नाकासम्म जोड्ने करिब ११५ किलोमिटर दूरीमा पर्ने उक्त खण्ड बिहीबार गएको पहिरोका कारण सडकमा यातायात पूर्ण रूपमा ठप्प बनेको हो।

उत्तर-दक्षिण कोशी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार करिब ३०० मिटर सडक क्षेत्रमा ढुङ्गा, माटो र झाडी मिसिएको ठूलो पहिरो खसेको छ। ‘सडक निर्माणाधीन भएकाले मेसिन प्रयोग गर्नसक्ने अवस्था छैन। भिरालो भू-भाग र लगातारको वर्षाले काम अझ चुनौतीपूर्ण भएको छ’, उनले बताए। 

सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान, इन्धन, निर्माण सामग्रीलगायत वस्तुको ढुवानी प्रभावित भएको छ। तीन दिनदेखि राजमार्ग ठप्प हुँदा यात्रुसमेत समस्यामा परेका छन्।

गुरुङका अनुसार वर्षायाममा यस क्षेत्रमा हरेक वर्ष पहिरो जाने गरे पनि यसपटकको पहिरो असाध्यै ठूलो भएकाले सडक कहिले खुल्ने भन्ने टुङ्गो लाग्न सकेको छैन। हाल पहिरो पन्छाउने प्रयास जारी राखेको भए पनि तत्काल राजमार्ग सञ्चालन हुने सम्भावना देखिएको छैन। 

भदौ ७, २०८२ शनिबार १४:५५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।