भियतनामकी उपराष्ट्रपति तीन दिने औपचारिक भ्रमणमा नेपाल आउँदै

काठमाडौं : समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीन दिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौं आउँदैछिन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेकी हुन्। परराष्ट्र मन्त्रालयका अनुसार, भियतनामको तर्फबाट नेपालमा हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो।
दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सवको अवसरमा हुन लागेको यो भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ।
उपराष्ट्रपति सुआन भदौ ७ देखि ९ गतेसम्म नेपालमा रहनेछिन्। भ्रमणका क्रममा भदौ ८ गतेमा हुने नेपाल-भियतनाम द्विपक्षीय बैठकमा दुवै देशका उपराष्ट्रपतिले आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।
यसका साथै, उनले नेपालका उच्च पदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। उपराष्ट्रपति सुआन भदौ ९ गतेमा काठमाडौंबाट हनोई प्रस्थान गर्नेछिन्।
भदौ ७, २०८२ शनिबार १२:४५:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।