‘ओलीविनाको एमाले र एमालेविनाको नेपाल बनाउने षडयन्त्र भइरहेको छ’

‘ओलीविनाको एमाले र एमालेविनाको नेपाल बनाउने षडयन्त्र भइरहेको छ’

रामेछाप : एमालेका पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईंले नेपालमाथि विदेशी हस्तक्षेप अझै पनि जारी रहेको बताएका छन्।

शनिबार एमाले रामेछापको पाँचौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले एउटा अन्तर्राष्ट्रिय गिरोहले ‘केपी ओलीविनाको एमाले र एमालेविनाको नेपाल’ बनाउने षडयन्त्र गरिरहेको दाबी गरे​​​​​​​।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा आउने चर्चालाई समेत उनल यही षडयन्त्रको परिणाम भएको टिप्पणी गरे।

अध्यक्ष केपी शर्मा ओलीलाई हटाउनुपर्ने कुनै कारण नरहेको जिकिर गर्दै उनले भने, ‘चौतर्फी आक्रमण र घेराबन्दी भएको बेला पार्टीलाई पहिलो बनाउने नेतृत्वलाई बचाउनु हाम्रो कर्तव्य हो। बाह्य हस्तक्षेपको विरोध गरेकाले नै केपी ओलीको विरोध भएको हो, राष्ट्रको अहित गरेकाले होइन। राष्ट्रिय हितको नेतृत्व गर्ने नेतालाई हामीले जोगाउनुपर्छ।’

नेपालमाथि निरन्तर भारतीय हस्तक्षेप भइरहेको र त्यसको सशक्त प्रतिवाद गर्ने एक मात्र नेता केपी ओली भएको उनको जिकिर थियो।

‘भारतको नाकाबन्दीको सामना गर्नेदेखि लिएर चुच्चे नक्सा जारी गर्नेसम्मका सबै मुद्दामा केपी ओली चट्टानझैँ उभिनुभयो’, उनले भनिन्।

नेपालमा अस्थिरता चाहने शक्तिहरूले एमालेभित्र फुट र विभाजन ल्याउन खोजेको उनले आरोप लगाए।

‘हामी ‘मिसन २०८४’ लिएर अघि बढेका छौँ। एमाले एकढिक्का भएर संगठन सुदृढ गरे २०८४ मा स्पष्ट बहुमत ल्याउँछ भन्ने बुझेरै विरोधी शक्तिहरूले यस्ता गतिविधि गरिरहेका छन्,’ उनले भने, ‘२०८४ सम्म यस्ता धेरै चलखेल हुनेछन्।’

चौलागाईंले पार्टीको ‘जरा केन्द्रित अभियान’ बाट राजनीतिक र सामाजिक स्थितिको यथार्थ जानकारी आएको बताउँदै सोही प्रतिवेदनका आधारमा पार्टीका आगामी कार्यक्रम तय गर्नुपर्नेमा जोड दिए।

उनले पार्टीका तल्ला कमिटीहरूलाई बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउँदै भने, ‘मुख्य केन्द्र पालिकालाई बनाउनुपर्छ, किनकि पालिकाले सक्षम नेतृत्व खोजेको छ।’

भदौ ७, २०८२ शनिबार १२:३८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।