देउवाको साथले वीपी बन्ने शशांकको सपना

देउवाको साथले वीपी बन्ने शशांकको सपना

काठमाडौं : मोरङ पुगेका कांग्रेस नेता शशांक कोइरालाले शुक्रबार भने- ‘मैले वीपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउन खोजेको छु। त्यही कारणले म नेपाली कांग्रेसको सभापति बन्नुपर्छ।’

उनले कांग्रेसको सभापति दाबी गरेको यो पहिलो पटक होइन। १३औं महाधिवेशनमा शेरबहादुर देउवाको नेतृत्वमा महामन्त्री बनेका उनी १४औं महाधिवेशनमा स्वतः संस्थापनइतरबाट सभापतिका उम्मेदवार बन्न सक्थे। प्रयास गरेका पनि हुन्।

तर, महामन्त्री हुँदाको कमजोर नेतृत्व शैली, व्यक्तिगत र पारिवारिक सम्बन्धमा आएको उतारचढावले आफ्नो पक्षमा माहौल बनाउनै सकेनन्। सुजाता कोइराला, शेखर कोइरालाको समेत समर्थन पाएनन्। अनि न आफूले नेतृत्व दाबी गरे, न त शेखर कोइरालालाई नै साथ दिए।

पुन: शेरबहादुर देउवालाई सभापति बन्न बाटो खुला गराएपछि अहिले उनी देउवा समूहतिरै सक्रिय भएर १५औं महाधिवेशनमा नेतृत्वको दाबी गरिरहेका छन्।

त्यसैलाई जोड दिँदै उनले शुक्रबार पार्टीको कार्यक्रममा उनले दाबी गरे, ‘म लाखौँ कमाउने मान्छे हुँ। मैले त्यो छोडेर राजनीतिमा आएको हुँ। मलाई कुनै लोभ छैन। म त नेपाली कांग्रेस बलियो बनाएर नेपाल र नेपालीको सेवाका लागि आएको हुँ।’

उनी चिकित्सक हुन्। चिकित्सा अभ्यास गरिरहेको भए लाखौँ कमाउन पनि सक्थे। यसमा शंका भएन। कांग्रेसका नेतामा देखिने व्यक्तिगत सत्तामोह उनमा देखिँदैन। जीवनशैली साधारण नै देखिन्छ। भ्रष्ट आचरण पनि देखिएको छैन।

तर, उनले आफू नेतृत्व गर्न सक्षम छु भन्ने स्थापित गर्न सकेका छैनन्। पार्टी महामन्त्री बन्दा उनको नेतृत्व क्षमताभन्दा वीपीको छोराको ब्रान्डले धेरै सघाएको थियो। त्यही ब्रान्डको आधारमा नेतृत्वमा पनि पुगे, तर उनले पदअनुसारको नेतृत्व दिन सकेनन्। मनोनीत महामन्त्री पूर्णबहादुर खड्का हावी भए।

हिजोका दिनमा जसरी आफ्नो आसेपासेको घेरामा रमाएर बस्थे, त्यसरी नै रमाए। १२औं महाधिवेशनबाट केन्द्रीय सदस्य हुनु र १३औंमा महामन्त्री बन्नुले उनको सक्रियतामा खासै भिन्नता देखिएन।

सांसद भए पनि संसदमा उनको उपस्थिति अर्थपूर्ण छैन। उनी संसदीय अभ्यासमा पूर्ण निष्क्रियजस्तै छन्। संसद जान्छन्, केही समय बस्छन्, बाहिरिन्छन्। राष्ट्रिय राजनीतिमा पनि उति चासो देखिँदैन। उच्चस्तरीय भेटघाटमा उनको रुचि देखिँदैन।

पार्टी सत्तापक्षमा होस् या प्रतिपक्षमा, बोल्ने जाँगर चलाउँदैनन्। न संसदीय समितिमा नै उनको सक्रियता देखिन्छ। पूर्ण निष्क्रिय। उनको राजनीतिक अस्तित्व बेलाबखत पार्टीका कार्यक्रमले धानिदिएको छ।

पार्टीका अन्य गतिविधिमा समेत प्रायः निष्क्रिय रहने उनी सरकारको भागबन्डामा भने चासो राख्छन्। पार्टीका अन्य गुटले भाग नपाए पनि उनको भाग छुट्दैन।

शेरबहादुर देउवाले प्रायः उनको भागमा एक मन्त्री राखिदिन्छन्। तर, उनको छनोट प्रायः विवादित पर्छन्। अहिलेका ऊर्जामन्त्री दीपक खड्का उनकै कोटाका मन्त्री हुन्।

नेतृत्व पाउन देउवाकै आश
संस्थापनइतरबाट रामचन्द्र पौडेल राष्ट्रपति भएर दौडबाट बाहिरिइसकेका छन्।

१५औं महाधिवेशन लक्षित गरेर शेखर कोइराला निरन्तर सक्रिय छन्। त्यसमा उनकै समूहका महामन्त्री गगन थापा पनि नेतृत्व लिने रणनीतिमा छन्। उनले निरन्तर सभापतिको उम्मेदवारीमा दाबी गरिरहेका छन्।

उता, शेरबहादुर देउवा १५औं महाधिवेशनमा आफू उम्मेदवार नबने पनि नेतृत्वमा कसलाई अगाडि बढाउने भन्ने खुलाइसकेका छैनन्। उनको समूहबाट स्वाभाविक उम्मेदवार पूर्णबहादुर खड्का हुनुपर्ने हो, तर त्यस्तो संकेत देखिँदैन।

१३औं महाधिवेशनमा प्रतिस्पर्धा गरेर १४औंमा देउवालाई सघाउन पुगेका कृष्ण सिटौला देउवाको साथ लिएर सभापतिको उम्मेदवार बन्ने प्रयासमा छन्।

त्यही लाइनमा छन् शशांक, प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि। प्रकाशमान र विमलेन्द्रले १४औं महाधिवेशनको पहिलो चरणमा देउवा र शेखरसँग सभापतिमा प्रतिस्पर्धा गरेर दोस्रो चरणमा देउवालाई सघाएका थिए।

यी नेताहरूले देउवालाई भेटेर उनको मनको कुरा बुझ्न पटक-पटक प्रयास गरे पनि ‘सक्रिय हुनु’ बाहेक थप आश्वासन पाएको देखिँदैन।

विकल्पमा कांग्रेसका तीन सम्मानित नेता वीपी, गणेशमान र महेन्द्रनारायणका सन्तान- शशांक, प्रकाशमान र विमलेन्द्र एक ठाउँमा आएर नेतृत्व चयनको माहौल बनाउने प्रयास पनि गरिरहेका छन्। तर, यी तीनले पनि एकअर्काको नेतृत्व स्वीकार्ने सम्भावना देखिँदैन।

संस्थापनइतर समूहमा पहिल्यै दुई प्रतिस्पर्धी भएकाले यता सर्वसम्मत हुने सम्भावना छैन। यस्तो बेलामा अन्त्यमा देउवाको समर्थनको अर्को विकल्प देखिँदैन। त्यसैले, शशांकको बुढानीलकण्ठ यात्रा बाक्लिएको छ। चियापान वा यस्तै बहानामा उनको सक्रिय हुने प्रयास जारी छ, जसमा देउवाको आशीर्वाद पाउने प्रयास रोकिएको छैन।

भदौ ७, २०८२ शनिबार १२:१४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।