‘गुन्यु चोलो’ को शीर्ष गीत सार्वजनिक, नाजिर हुसेन पारालैंगिक महिलाको भूमिकामा

‘गुन्यु चोलो’ को शीर्ष गीत सार्वजनिक, नाजिर हुसेन पारालैंगिक महिलाको भूमिकामा

काठमाडौं : पारालैंगिक पात्रको कथामा आधारित चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को शीर्ष गीत सार्वजनिक भएको छ।

चलचित्रको कथावस्तुलाई समेटेर तयार पारिएको गीतमा फरक लैंगिक पहिचानका कारण व्यक्तिले भोग्नुपरेको सामाजिक विभेद र कारुणिक यथार्थलाई प्रस्तुत गरिएको छ।

गीतमा लेखु सहयात्रीको रचना तथा समुन्द्र भट्ट र रेखा पन्तको शब्द रहेको छ। केतन क्षेत्रीको स्वर रहेको गीतमा विषम आचार्यले उनलाई साथ दिएका छन्।

गीतले तेस्रोलिंगी समुदायलाई समाजले मानिसको रूपमा स्वीकार नगर्दा उनीहरूले भोग्नुपरेको पीडा र मानवीय व्यवहारका लागि गरेको संघर्षलाई मार्मिक रूपमा चित्रण गरेको छ।

समुन्द्र भट्ट निर्देशित यो चलचित्र भदौ १३ गतेदेखि प्रदर्शनमा आउँदैछ। यसलाई नेपालमा पारालैंगिक समुदायको कथामा बनेको पहिलो कथानक चलचित्र मानिएको छ।

चलचित्रमा अभिनेता नाजिर हुसेनले पारालैंगिक महिला (ट्रान्सवुमन) को मुख्य भूमिका निर्वाह गरेका छन्। उनीसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको पनि महत्त्वपूर्ण भूमिका छ।

यो चलचित्र नेपाली र हलिउड प्रोडक्सन हाउसको सहकार्यमा निर्माण भएको हो। चलचित्रको सम्पादन, कलर ग्रेडिङ, साउन्ड डिजाइन र ब्याकग्राउन्ड म्युजिकजस्ता सम्पूर्ण पोस्ट-प्रोडक्सनको काम विदेशमा हलिउड शैलीमा गरिएको छ।

चलचित्रमा चर्चित हलिउड गायिका लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिक मार्सेलो दी फ्रान्सिसीले तयार पारेका हुन्। लिजाले यसअघि हलिउडको चर्चित चलचित्र ‘ग्ल्याडिएटर’ मा पनि स्वर दिएकी थिइन्।

आकाश बुढाथोकी र भि-भन्से जानुबोनको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन्।

आलोक शुक्लाले छायांकन गरेको यो चलचित्र अमेरिकाको प्रतिष्ठित 'तस्वीर फिल्म मार्केट'का लागि समेत छनोट भएको थियो। चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले लिएको छ।

भदौ ७, २०८२ शनिबार १०:४८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।