अभिनेत्री पूजा शर्माले भनिन्, ‘...त्यो अन्तर्वार्ता मेरो जीवनको कालो दिन थियो’

अभिनेत्री पूजा शर्माले भनिन्, ‘...त्यो अन्तर्वार्ता मेरो जीवनको कालो दिन थियो’

काठमाडौं : एकपछि अर्को फिल्म असफल भएपछि अभिनेत्री पूजा शर्मा पछिल्लो समय लाइमलाइटबाट टाढा छिन्। ‘रावायण’को असफलता र लगानीसम्बन्धी विवादपछि उनी गुमनाम जस्तै छिन्।

हालै सुगारिका केसीको टक शो ‘सामर्थ्य’मा कुरा गर्दै उनले आफ्नो करिअर उकालो लागिरहेको समयमा दिएको एक अन्तर्वार्ताले जीवनमा ‘ग्रहण’ नै लगाइदिएको बताएकी छिन्।

लकडाउनको समयमा उनले ‘रजतपट’ कार्यक्रमका लागि दिएको एक अन्तर्वार्तामा कार्यक्रम सञ्चालक प्रकाश सुवेदीले उनलाई नेपालमा कति प्रदेश र जिल्ला छन् भनेर सोधेका थिए।

फिल्म प्रमोशन गर्न गएको कार्यक्रममा एक्कासी आएको प्रसङ्गहीन प्रश्नले उनी अक्मकिइन्।

नेपाल संघीय संरचनामा जानुअघि १४ अञ्चल र ७५ जिल्ला थिए, जुन पछि ७७ जिल्ला र ७ प्रदेशमा परिवर्तन भयो।

तर, प्रश्नले अकमकिएकी उनले झुक्किएर ‘१४ जिल्ला, ७२ प्रदेश होला’ भन्ने जवाफ दिएकी थिइन्। उनको यही जवाफपछि उनी सामाजिक सञ्जालमा ट्रोलको शिकार बनिन्।

उनले कार्यक्रम र सञ्चालकको नाम नलिए पनि सुगारिकाले ‘तपाईंको करिअर राम्रो गतिमा अघि बढिरहेको थियो, तर एक विन्दुमा आएर किन रोकियो?’ भनेर सोध्दा उनले लकडाउनको त्यो समय आफ्ना लागि निकै खराब भएको बताइन्।

उनले भनेकी छिन्, ‘मेरो फिल्म म यस्तो गीत गाउँछु २ रिलिजको तयारीमा थियो। सबै लगानी त्यसमा थियो, तर लकडाउन भयो। त्यही बेला एक अन्तर्वार्तामा गएपछि मेरो जीवनमा खराब समय सुरु भयो।’

प्रश्नको उत्तर थाहा भए पनि तनावका कारण गलत जवाफ दिन पुगेको र त्यसले आफ्नो छवि ‘केही पनि नजान्ने’ जस्तो बनाएर बदनाम गराएको उनले बताइन्।

‘त्यो ठूलो कुरा त थिएन, तर उहाँले मलाई यसरी प्रस्तुत गरिदिनुभयो कि मेरो मोरल नै डाउन भयो। त्यो ठाउँमा कहिल्यै जानु नपरोस् भन्ने लाग्छ। त्यो दिन नै मेरो लागि कालो दिन थियो’, उनले भनिन्।

आफ्नो क्षेत्र बाहिरका सबै प्रश्नको उत्तर सबैलाई थाहा हुन्छ वा हुनैपर्छ भन्ने छैन। तर, मनोरञ्जनका लागि सोधिने यस्ता प्रश्न र त्यसबाट बन्ने गसिप र ट्रोलले सम्बन्धित व्यक्तिको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। त्यही सामान्य घटनाले अभिनेत्री पूजाको मानसिक स्वास्थ्य र करिअर दुवैमा असर पारेको देखिन्छ।

त्यो अन्तर्वार्ता र त्यसपछिको ट्रोलले गर्दा आफू जहाँ जाँदा पनि ‘केही आउँदैन’ जस्तो लाग्ने र हतोत्साहित हुने गरेको बताउँदै उनले थपिन्, ‘अब त्यो कार्यक्रममा कहिल्यै जानु नपरोस्।’

भदौ ७, २०८२ शनिबार १०:०७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।