३७ लागिन् वाणी : बुबाको विरोधका बावजुद अभिनेत्री बनिन्, रणवीरसँगको २३ किस सिनले चर्चामा

एजेन्सी : दिल्लीमा हुर्केकी वाणी कपूर आज बलिउडकी एक चर्चित अभिनेत्री हुन्। तर, उनको यो यात्रा सोचेजस्तो सहज थिएन।
फिल्म क्षेत्रमा कुनै पारिवारिक पृष्ठभूमि नभएकी वाणीले एक समय होटलमा काम गर्थिन्। उनका बुबा छोरी फिल्ममा आएको हेर्न चाहँदैनथे, तर आमाको साथले उनलाई मुम्बईसम्म पुऱ्यायो।
उनै वाणी आज ३७ वर्ष लागेकी छन्। उनले जन्मदिन मनाउँदै गर्दा उनको बारेमा केही कुरा जानौँ:
०००
इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालय (इग्नू) बाट पर्यटनमा स्नातक गरेपछि वाणीले जयपुरको ओबेरोय होटलमा इन्टर्नसिप गरिन्।
त्यसपछि उनले आईटीसी होटलमा काम गर्न थालिन्। यहीँबाट उनको जीवनले नयाँ मोड लियो। एकपटक होटलमा फिल्मको सुटिङ भइरहेको थियो, त्यो देखेर वाणीलाई फिल्मी दुनियाँ निकै आकर्षक लाग्यो र उनले अभिनयमै आफ्नो भविष्य बनाउने निर्णय गरिन्।
जब वाणीले आफ्नो निर्णय परिवारलाई सुनाइन्, उनका बुबा निकै रिसाए। उनी वाणीले मोडलिङ वा फिल्ममा काम गरोस् भन्ने चाहँदैनथे। उनको सोच थियो, ‘छोरीहरूको बिहे छिट्टै गरिदिनुपर्छ।’
वाणीकी दिदीको विवाह १८ वर्षमै भएको थियो। तर, वाणी आफ्नो निर्णयमा अडिग रहिन्। बुबाको असहमति हुँदाहुँदै पनि आमाको पूर्ण समर्थनमा उनले जागिर छोडेर मोडलिङ सुरु गरिन्।
वाणीले आफ्नो मोडलिङ करियर ‘एलिट मोडल म्यानेजमेन्ट’बाट सुरू गरिन्। सन् २००९ मा उनले सोनी टेलिभिजनको सिरिज ‘स्पेशल १०’ बाट सानो पर्दामा डेब्यु गरिन्।
लामो प्रयासपछि सन् २०१३ मा उनले यशराज ब्यानरको फिल्म ‘शुद्ध देसी रोमान्स’ बाट बलिउडमा पाइला चालिन्। यो फिल्ममा उनको अभिनयको निकै प्रशंसा भयो र उनले ‘फिल्मफेयर बेस्ट फिमेल डेब्यु’ अवार्ड पनि जितिन्। यशराज फिल्म्ससँग उनको तीनवटा फिल्मको सम्झौता थियो।
‘बेफिक्रे’ का २३ चुम्बन दृश्यले मच्चायो तहल्का
पहिलो फिल्मपछि वाणीले दक्षिण भारतीय फिल्ममा पनि काम गरिन्, तर त्यो सफल हुन सकेन। सन् २०१६ मा उनी आदित्य चोपडा निर्देशित फिल्म ‘बेफिक्रे’मा रणवीर सिंहसँग देखिइन्। यो फिल्म आफ्नो बोल्ड दृश्यका कारण निकै विवादित र चर्चित बन्यो।
फिल्ममा वाणी र रणवीरबीच देखाइएका कुल २३ वटा चुम्बन दृश्यले सनसनी मच्चायो र वाणीलाई रातारात चर्चामा ल्यायो। हलमा सामान्य व्यापार गरे पनि ओटीटीमा यो फिल्मलाई दर्शकले निकै रुचाए। यसपछि उनी ऋतिक रोशन र टाइगर श्राफसँग 'वार' जस्ता सफल फिल्ममा पनि देखिइन्।
करियरको सुरुवाती दिनमा वाणीले रंगभेद र बडी शेमिङको सामना गर्नुपरेको थियो। एक अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘एक फिल्म निर्माताले म दूधजस्तो गोरो नभएको कारण फिल्मबाट निकालेका थिए।’
‘बेफिक्रे’को समयमा निर्देशक आदित्य चोपडासँग उनको अफेयरको हल्ला पनि चल्यो, जसलाई उनले ठाडै अस्वीकार गरिन्।
त्यस्तै, पाकिस्तानी अभिनेता फवाद खानसँग फिल्म खेल्ने भएपछि उनी विवादमा तानिइन्। भारत-पाकिस्तानबीचको तनावका कारण फिल्म रोकियो र वाणीले सामाजिक सञ्जालमा चर्को आलोचना खेप्नुपर्यो।
यस विषयमा उनले भनेकी थिइन्, ‘घृणा कम गरौँ, प्रेम र दया बाँडौँ। हामीले जस्तो व्यवहार अरुलाई गर्छौँ, त्यस्तै आफूमाथि पनि आइपर्छ।’
थोरै फिल्म, तर करोडौँकी मालिक
सन् २०१३ देखि अहिलेसम्म करिब ११ वर्षको करियरमा वाणीले जम्मा नौ वटा फिल्ममा काम गरेकी छिन्। तर पनि उनी करोडौँकी मालिक हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार, उनको कुल सम्पत्ति १८ देखि २० करोड भारतीय रुपैयाँ छ। उनी एउटा फिल्मको लागि करिब १ करोड भारु लिन्छिन्।
फिल्मबाहेक मोडलिङ, विज्ञापन र फोटोसुटबाट पनि उनको राम्रो कमाइ हुन्छ। दिल्ली र मुम्बईमा आलिशान घर भएकी वाणीलाई महँगा गाडीको पनि सौख छ।
भदौ ७, २०८२ शनिबार ०९:५१:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।