भारतमा पाँच वर्षपछि टिकटकको वेबसाइट खुल्यो, तर गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा छैन उपलब्ध

भारतमा पाँच वर्षपछि टिकटकको वेबसाइट खुल्यो, तर गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा छैन उपलब्ध

एजेन्सी : चिनियाँ सर्ट भिडियो सेयरिङ प्लेटफर्म टिकटकको वेबसाइट शुक्रबार साँझदेखि भारतमा ५ वर्षपछि पुनः सञ्चालनमा आएको छ।

यसका साथै, चर्चित अनलाइन सपिङ साइटहरू अलीएक्सप्रेस र शीनको वेब पेज पनि खुल्न थालेको छ। सन् २०२० मा भारत-चीनबीच सीमामा तनाव बढेपछि भारत सरकारले यी प्लेटफर्महरूमाथि प्रतिबन्ध लगाएको थियो।

हाल प्रयोगकर्ताहरूले मोबाइल र ल्यापटपमा यी प्लेटफर्महरूको वेबसाइटको होम पेज मात्र हेर्न सकिरहेका छन्।

तर, टिकटक र अलीएक्सप्रेसको मोबाइल एप भने अझै पनि गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा उपलब्ध छैन, अर्थात् एपहरूमाथिको प्रतिबन्ध कायमै छ। यद्यपि, शीनको एप भने दुवै एप स्टोरबाट इन्स्टल गर्न सकिन्छ।

यस विषयमा टिकटक वा यसको प्यारेन्ट कम्पनी बाइटडान्सले अहिलेसम्म कुनै आधिकारिक विज्ञप्ति जारी गरेको छैन। कम्पनीले न त आफ्नो सेवा पुनः सुरु भएको पुष्टि गरेको छ, न त वेबसाइट खुल्नुको कारण नै खुलाएको छ।

यसैबीच, भारतीय समाचार एजेन्सी एएनआईले सरकारी सूत्रहरूलाई उद्धृत गर्दै भारत सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने कुनै आदेश जारी नगरेको जनाएको छ।

भारतको इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयले पनि यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। यसले गर्दा वेबसाइट कसरी खुल्यो भन्ने विषयमा अन्योल छाएको छ।

सन् २०२० मा गलवान घाटीमा भएको सैन्य झडपपछि भारतले टिकटक, वीच्याट र हेलो जस्ता लोकप्रिय सामाजिक सञ्जालसहित ५९ चिनियाँ मोबाइल एपहरूमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध लगाउनु केही महिनाअघि भारतले चिनियाँ कम्पनीहरूको लगानीमाथि पनि कडाइ गरेको थियो।

भारत सरकारले यी एपहरूले प्रयोगकर्ताको डेटा चिनियाँ सरकारसँग सेयर गर्न सक्ने र त्यसले देशको सार्वभौमिकता र सुरक्षामा खतरा पुऱ्याउने तर्क दिएको थियो। हालसम्म भारतमा ५०० भन्दा बढी चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाइसकिएको छ।

भदौ ७, २०८२ शनिबार ०९:२३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।