नाडा अटो शो २०२५ मा दर्शक बढेको बढ्यै, प्रधानमन्त्रीदेखि विशिष्ट व्यक्तिहरूद्वारा अवलोकन

नाडा अटो शो २०२५ मा दर्शक बढेको बढ्यै, प्रधानमन्त्रीदेखि विशिष्ट व्यक्तिहरूद्वारा अवलोकन

काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आयोजित 'नाडा अटो शो २०२५' ले यस वर्ष ऐतिहासिक सफलता हासिल गरेको छ।

प्रदर्शनीको पहिलो चार दिनमै १ लाख ४ हजार ३४७ जनाले अवलोकन गरेपछि आयोजकहरू उत्साहित भएका छन्। यो तथ्याङ्कले नेपाली जनताको नयाँ प्रविधि र अटोमोबाइल क्षेत्रप्रतिको गहिरो चासो र जिज्ञासालाई स्पष्ट पारेको छ।

यस पटकको अटो शो देशका विशिष्ट व्यक्तित्वहरूको समेत आकर्षणको केन्द्र बन्यो। प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रदर्शनीको अवलोकन गरे।

त्यसैगरी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल, सांसदहरू योगेश भट्टराई, हरि ढकाल, शिशिर खनाल तथा बागमती प्रदेशका माननीय श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले समेत शोको अवलोकन गरी यस क्षेत्रका नवीन प्रविधिबारे जानकारी लिए।

प्रदर्शनी अवलोकन गर्ने अन्य विशिष्ट व्यक्तित्वहरूमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाली सेनाका रथी निर्मलकुमार थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री लगायत विभिन्न मन्त्रालय तथा विभागका उच्चपदस्थ कर्मचारीहरू थिए।

यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलेश्वर खनाल, नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष सुरेन्द्र रेग्मी, राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सवित्रा भण्डारी ‘साम्बा’ लगायत उद्योगी, व्यवसायी र चर्चित व्यक्तित्वहरूको पनि बाक्लो उपस्थिति रह्यो।

अन्तर्राष्ट्रिय क्षेत्रबाट सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (SIAM) का उपकार्यकारी निर्देशक अटानु गांगुली र अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चरर्स एसोसिएसनका कार्यसमिति सदस्य रितुन्जय गुप्ताको प्रतिनिधि मण्डलले समेत शोको अवलोकन गरेको थियो।

यसप्रति खुसी व्यक्त गर्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षले भने, ‘यो उपलब्धि हाम्रा लागि एक सुखद सुरुवात हो। यसले हाम्रो अपेक्षामा थप ऊर्जा प्रदान गरेको छ र नेपाललाई अटोमोबाइल नवप्रवर्तन तथा भविष्य-उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउने हाम्रो आत्मविश्वासलाई अझ मजबुत बनाएको छ।’

नाडाले यस कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्मी र अवलोकनकर्ताहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।

‘नाडा अटो शो अब केवल प्रदर्शनी मात्र नभएर नवप्रवर्तन, उद्यमशीलता र भविष्यको तयारीको राष्ट्रिय उत्सव बनेको छ’, विज्ञप्तिमा उल्लेख छ।

भदौ ७, २०८२ शनिबार ०८:३०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।