अमेरिकाको नायाग्रा फल्स नजिक पर्यटक बस दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी : अमेरिका-क्यानडा सीमामा रहेको प्रसिद्ध पर्यटकीय स्थल नायाग्रा फल्सबाट करिब ४० माइल टाढा एउटा पर्यटक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
न्युयोर्क प्रहरीका अनुसार, बस नायाग्रा फल्सबाट न्युयोर्क शहर फर्कँदै गर्दा न्युयोर्क स्टेट थ्रुवेमा दुर्घटनामा परेको हो।
प्रत्यक्षदर्शीहरूले गाडीले नियन्त्रण गुमाएर पल्टिएको बताएका छन्। प्रहरीका अनुसार, दुर्घटनामा पर्ने अधिकांश यात्रु भारत, चीन र फिलिपिन्सका पर्यटक थिए।
न्युयोर्ककी गभर्नर क्याथी होकुलले स्थानीय अधिकारीहरू ‘दुर्घटनामा परेका सबैको उद्धार र सहायताका लागि काम गरिरहेको’ बताएकी छन्।
बफेलो शहरबाट ४८ किलोमिटर पूर्वमा रहेको पेमब्रोक शहर नजिकैको दुर्घटनास्थलमा तत्काल एम्बुलेन्स र मेडिकल हेलिकप्टरहरू पठाइएको थियो।
प्रहरीले पुष्टि गरेअनुसार, दुर्घटना हुँदा बसमा १ देखि ७४ वर्ष उमेरका ५२ जना यात्रु सवार थिए।
दुर्घटना हुँदा केही यात्रु गाडीबाट बाहिर उछिट्टिएका थिए र अधिकांशले सिट बेल्ट नलगाएको अनुमान गरिएको छ।
भदौ ७, २०८२ शनिबार ०७:५८:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।