आज कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिन : कतै उल्लास, कतै दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

काठमाडौं : ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान्दै आज देशभर कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन मनाइँदैछ।
वैदिक सनातन धर्मावलम्बीहरूले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर यो पर्व मनाउँछन्।
छोराछोरीले बाबुलाई मन पर्ने भोजन खुवाई आदर सम्मान प्रकट गर्ने यो दिन सबैका लागि भने उस्तै छैन।
पवित्र तीर्थस्थल देवघाट धामका वृद्धाश्रममा रहेका ‘बा’हरू भने आफ्ना सन्तानको न्यानो सम्झनाभन्दा पनि कुनै दाता आएर माया देला कि भनी पर्खिरहेका छन्।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलिएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।
धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमका अनुसार आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिन्छ भने अन्य दिन उखेलिएको कुश सोही दिन मात्र प्रयोग गर्नुपर्ने मान्यता छ। सनातन धर्ममा कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानिन्छ।
यस अवसरमा बाबुको मुख हेर्ने पर्व पनि मनाइन्छ। छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद लिन्छन्। बाबु गुमाएकाहरूले भने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्।
आजको दिन विशेषगरी ‘उत्तरगया’ भनेर चिनिने काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। यसैले आजको औँसीलाई ‘गोकर्णे औँसी’ पनि भनिन्छ।
मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण र पिण्डदान गर्नेहरूको ठूलो घुइँचो लागेको छ। यस्तै, रसुवा र नुवाकोटको सङ्गमस्थल बेत्रावतीमा पनि दिवङ्गत पिताको सम्झनामा श्राद्ध गर्नेहरूको भीड लाग्ने गर्छ।
आजकै दिन राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती पनि देशभर विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदैछ। वि.सं. १९२३ भाद्रकृष्ण कुशे औँसीका दिन जन्मेका भट्टको निधन पनि वि.सं. १९५३ सालको कुशे औँसीकै दिन ३० वर्षको अल्पायुमा भएको थियो।
उनले नेपाली साहित्यमा शृङ्गार रस भित्र्याउनुका साथै आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए। नेपालमा छापाखाना भित्र्याएर पत्रकारिताको जग बसाउने श्रेय पनि उनैलाई जान्छ। यस अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गरेका छन्।
एकातिर पर्वको उल्लास छ भने अर्कोतिर चितवनको देवघाट गाउँपालिका-५ स्थित देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रमका ‘बा’हरूको मुहारमा निराशा छ।
नुवाकोटबाट आएका ७५ वर्षीय कृष्णप्रसाद भट्ट आफन्त भएर पनि चाडपर्वमा कसैले नसम्झँदा मन अमिलो हुने बताउँछन्। दुई छोरा भएर पनि औँसीमा सम्पर्क नगर्दा निराश बनेका छन्।र
उनी भन्छन्, ‘वृद्धावस्थामा साहारा चाहिने रहेछ, तर उनीहरू नै सम्पर्कमा छैनन्। अब त जो सम्झेर आउँछन्, तिनै छोराछोरी हुन्।’
यस्तै, भरतपुरका ८६ वर्षीय शमशेरबहादुर विश्वकर्माको कथा पनि उस्तै छ।
वैवाहिक जीवन सफल नभएपछि एक्लिएका उनी भन्छन्, ‘आफ्ना त कोही छैनन्। बाबुको मुख हेर्ने दिन जो आएर खान दिन्छ, त्यही नै आफ्नो सन्तानजस्तो लाग्छ।’
बागलुङका ७७ वर्षीय अविवाहित मणिरत्न पौडेललाई पनि वृद्धावस्थामा कसैको अभाव महसुस हुन्छ।
‘अहिले कसैले ‘बा’ भनेर बोलायो भने पनि मन फुलेर आउँछ,’ उनी भन्छन्, ‘जसले बा भन्छन्, सबै सन्तान आफ्नै हुन्।’
देवघाट क्षेत्र विकास समितिका अनुसार यस क्षेत्रका आश्रमहरूमा करिब ८० जना वृद्धवृद्धा छन्, जसको व्यवस्थापन दाताहरूकै भरमा चलेको छ।
समितिका कार्यकारी निर्देशक सदन बराल भन्छन्, ‘सरकारी बजेट नहुँदा जन्मदिन, पितृकार्य जस्ता अवसरमा सहयोग गर्ने दाताकै भरमा दैनिकी चलाउनुपरेको छ।’
भदौ ७, २०८२ शनिबार ०७:४०:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।