भदौमा मात्रै ८ नेपाली फिल्म रिलिज हुँदै, २ देखि ६ हजारसम्म खर्च गरेर हल जालान् त दर्शक ?

काठमाडौं : भदौ महिनामा लागेका सबै नेपाली फिल्म हेर्न चाहने एक दर्शकले टिकटमै न्युनतम २ हजारदेखि बढीमा ६ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने देखिएको छ। किनभने यो महिनाभर ८ वटा नेपाली फिल्म प्रदर्शनमा आउने तयारीमा छन्।
यी सबै फिल्म हेर्न चाहने दर्शकले २५० देखि ७५० रुपैयाँसम्मको टिकट काट्नुपर्ने हुन्छ। एक्लै साँझको शो हेर्न जाँदा मात्र ७५० रुपैयाँ खर्चिनुपर्छ भने, दुई जनाले गएर सबै फिल्म हेर्ने हो भने करिब १४ हजार रुपैयाँ छुट्याउनुपर्ने अवस्था आउँछ।
फिल्म हलअनुसार टिकट दर फरक-फरक छ। बिग मुभिजमा बिहान बाहेकका शोमा टिकट दर ३५० देखि ४०० रुपैयाँसम्म पर्छ। त्यस्तै, आईएनआईमा रेगुलर शोको टिकट मूल्य ४०० रुपैयाँ नै छ। वान सिनेमाज्मा भने बढीमा ७५० रुपैयाँ तिर्नुपर्छ। समग्रमा, न्युनतम २५० देखि अधिकतम ७५० रुपैयाँसम्म टिकट मूल्य तोकिएको पाइन्छ।
एफक्युब सिनेमाज्मा समयअनुसार टिकट दर २४० देखि ७०० रुपैयाँसम्म रहने गरेको छ। त्यसैले, सबै फिल्म सामान्य समयमा हेर्ने दर्शकले कम्तीमा २ हजार खर्च गर्नुपर्ने हुन्छ भने महँगो समय र हल रोज्दा खर्च ६ हजार रुपैयाँसम्म पुग्न सक्ने देखिएको छ। यसमा पानी र हलभित्रको खानेकुराको खर्च भने जोडिएको छैन।
कुन फिल्म कहिले हुँदैछ रिलिज ?
भदौ ६ गते अर्थात शुक्रबारबाट ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ गरी तीन फरक कथावस्तुका फिल्म एक अर्कासँग भिड्दै छन्। ऋषि लामिछाने निर्देशित ‘माग्ने राजा’मा एक साधारण गाउँले युवाको धनी बन्ने सपनालाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ। यसको मुख्य भूमिका हास्य कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ले निर्वाह गरेका छन्। उनी बाहेक अन्य कलाकार वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर बाङ्देल, मिस पवी लगायत रहेका छन्।
शुक्रबारबाटै प्रदर्शनमा आएको अर्को फिल्म ‘जनै हराएको मान्छे’मा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, भोलाराज सापकोटा लगायत कलाकार छन्। यसलाई हिमाल न्यौपानेले निर्देशन गरेका छन्।
त्यसैगरी, भदौ ६ बाटै आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’ पनि प्रदर्शनमा आएको छ। यसमा मेनुका प्रधान, कुन्दुन शाक्य, मीरा खड्का लगायतले अभिनय गरेका छन्। एकै दिन प्रदर्शनमा आउन लागेको यी तीन फिल्म हेर्न चाहने दर्शकले एक दिनको समय दिनुपर्ने हुन्छ। २ घण्टाको फिल्म हो भने ६ घण्टा र आउजाउ गर्ने समय जोड्दा पूरै दिन लाग्ने देखिन्छ।
भदौको दोस्रो साता अर्थात १२ र १३ गते २ वटा फिल्म प्रदर्शनमा आउने तयारीमा छन्। सरोज पौडेल निर्देशित ‘कोसेढुंगा’ भदौ १२ गतेदेखि प्रदर्शनमा आउनेछ। यसमा आर्यन सिग्देल, सुरक्षा पन्त, ऋचा शर्मा, सरोज खनाललगायतका कलाकारको अभिनय रहेको छ। भदौ १३ गतेबाट भने ‘गुन्युचोलोः द ड्रेस’ रिलिज हुँदैछ। समुन्द्र भट्ट निर्देशित यस फिल्ममा नाजिर हुसेनले ट्रान्सवुमनको भूमिका निर्वाह गरेका छन्। फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीलगायतले पनि अभिनय गरेका छन्।
त्यस्तै, भदौ २० गतेबाट ‘रिमै’ र ‘चिठी’ प्रदर्शनमा आउँदैछन्। उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म ‘रिमै’मा दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र बुद्धि तामाङले अभिनय गरेका छन्।
सोही दिन रिलिज हुने माधव खरेल निर्देशित फिल्म ‘चिठी’लाई निर्माण पक्षले कमेडी, सस्पेन्स र थ्रिलरको मिश्रण भएको बताएको छ। यसमा खड्गबहादुर पुन मगर (खबपु), गोपाल ढकाल (छन्दे), सञ्जित भण्डारीलगायतले अभिनय गरेका छन्।
भदौको अन्तिमतिर अर्थात २७ गते सुशान्त गौतम निर्देशित फिल्म ‘अभिमन्युः च्याप्टर–१’ रिलिज हुँदैछ। यसमा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर बाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौला लगायतले अभिनय गरेका छन्।
यसरी हेर्दा भदौ महिनामा मात्र ८ वटा नेपाली फिल्म प्रदर्शनमा आउन लागेका छन्। ८ वटा मध्य कुन-कुन फिल्मले दर्शकको साथ पाउलान त ? त्यो त महिनाको अन्तिममा नै थाहा हुनेछ।
भदौ ६, २०८२ शुक्रबार २१:१६:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।