आमाको नामबाट वंशजको नागरिकता पाउने विधेयक राष्ट्रियसभाबाट पारित
काठमाडौं : राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सर्वसम्मतिले पारित गरेको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा गृहमन्त्री रमेश लेखकले प्रस्तुत गरेको उक्त विधेयकलाई सभाले पारित गरेको हो। उक्त विधेयक राष्ट्रियसभाले पुनः सन्देशसहित प्रतिनिधिसभामा पठाउने छ। सभामुख देवराज घिमिरेले विधेयक प्रमाणित गरिसकेपछि प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश हुनेछ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि राजपत्रमा प्रकाशित भए लगत्तै यो नियम लागू हुनेछ।
विसं २०८१ माघ १५ गते गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा नागरिकता (दोस्रो संशोधन) विधेयक दर्ता गराएका थिए। उक्त विधेयक २०८२ साल असार १४ गते प्रतिनिधिसभाबाट पारित भएको थियो।
त्यसअघि विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले आमाको नामबाट पनि नागरिकता पाउनसक्ने व्यावहारिक व्यवस्थालाई सुनिश्चित गरेको उल्लेख गरे। गृहमन्त्री लेखकले भने, ‘हामीले ऐतिहासिक फड्को मारेका छौँ, यसको जस दुवै सदन र सांसद र सरोकारवालालाई जान्छ। सबैको साझा प्रयत्नले यो सम्भव भएको छ। विधेयकले आमा पनि वंश हो भनेर व्यावहारिक रूपमा सुनिश्चित गरेको छ। कानुनको अभावका कारण आमाको नामबाट नागरिकता दिनसक्ने अवस्था थिएन। अब आमाको नामबाट वंशजको नागरिकता प्राप्त गर्न सकिनेछ।’
नेपालको संविधानको व्यवस्था अनुरूप कुनै पनि नागरिकलाई नागरिकता प्राप्त गर्नबाट वञ्चित नगर्ने भन्ने भावनाका साथ विधेयक ल्याइएको उनले उल्लेख गरे। उनले विधेयकलाई थप उन्नत, वैज्ञानिक र व्यवहारिक र सरलीकृत गरेर पारित गरेकामा सभालाई धन्यवाद दिए। विधेयकमाथिको छलफलमा सांसदहरू कृष्णबहादुर रोकाया, रेनु चन्द, गोपाल भट्टराई, पूजा चौधरी, मायाप्रसाद शर्मा, पदबबहादुर परियार, बिष्णुबहादुर विश्वकर्मा र सुरेश आलेमगर सहभागी भएका थिए।
संवैधानिक व्यवस्थाअनुसार आम नेपाली नागरिकलाई नागकिरता प्राप्तिबाट वञ्चित नहोस् भन्ने उद्देश्यले विधेयक ल्याइएको हो। नयाँ व्यवस्थाअनुसार आमा वा बाबुको नाम राखेर सन्तानले नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सक्नेछन्।
भदौ ६, २०८२ शुक्रबार १९:३८:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।