छुदेनको उपन्यास उरमाललाई मदन पुरस्कार, प्रेमदेवलाई जगदम्बा

छुदेनको उपन्यास उरमाललाई मदन पुरस्कार, प्रेमदेवलाई जगदम्बा

काठमाडौँ : उपन्यासकार छुदेन काविमोको पुस्तक ‘उरमाल’ले २०८१ को  मदन पुरस्कार पाएको छ। मदन पुरस्कार गुठीले शुक्रवार विज्ञप्तिमार्फत ‘उरमाल’लाई मदन पुरस्कार-२०८१ दिने निर्णय भएको सार्वजनिक गरेको हो। 

२०८१ को पुरस्कारका छुदेनको 'उरमाल'सँगै रमेश भुसालको 'छालबाटो', कुमारी लामाको 'दर्ज्यु संलाप', मनप्रसाद सुब्बाको 'पञ्चतत्त्वको पालाम', श्रेयज सुवेदीको 'बहुरूपी', सुधीर शर्माको 'भिक्षु, व्यापार र विद्रोह' र तीर्थ गुरुङको 'हिउँको गीत' उत्कृष्ट सूचीमा परेको थियो।

नेपाली भाषी छुदेनको यो दोस्रो उपन्यास हो। यस अगाडि उनको उपन्यास फातसुङ प्रकाशित भएको थियो। उनी भारतको कालिङपोङमा बस्दै आएका छन्। उनले सबैभन्दा पहिला कथा सङ्ग्रह प्रकाशित गरेका थिए। उरमाल उनको दोस्रो उपन्यास हो। 

भारतमा नेपाली भाषीले चलाएको गोर्खाल्याण्ड आन्दोलनमा आधारित उनको पहिलो उपन्यास फातसुङ अंग्रेजीमा सङ अफ सोइल शीर्षकमा प्रकाशित भएको थियो। फातसुङ पनि मदन पुरस्कारका लागि मनोनयनमा परे पनि पुरस्कार भने पाएन। उरमालमा उनले चिया बगानको मजदुरको कथा समेटेका छन्।

प्रेमदेवलाई जगदम्बा

गुठीको बैठकले लोकभाका सङ्कलक, कलाकार र वाद्यवादन ‘प्रेमदेव गिरी’लाई जगदम्बा-श्री पुरस्कार दिने निर्णय गरेको जानकारी दिएको हो।   लोकभाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान पुर्याएकोमा उनलाई जगदम्बा दिन लागिएको विज्ञप्तिमा उल्लेख छ। गिरी मादलेको रूपमा समेत परिचित छन्।

भदौ ६, २०८२ शुक्रबार १९:१२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।