सर्वोच्चबाट भ्रष्टाचार मुद्दा सदर भएपछि कांग्रेस जिल्ला सभापति सिंहले दिए राजीनामा

काठमाडौं : अदालतबाट भ्रष्टाचारी ठहर भएपछि नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले राजीनामा दिएका छन्। विशेष अदालतले तत्कालीन मनुस्मारा सिँचाइ आयोजनाको जल उपभोक्ता समिति अध्यक्ष हुँदा भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो।
पुनरावेदनमा सर्वोच्च अदालतले समेत उनलाई चार महिना १५ दिन कैद र एक करोड २३ लाख रकम बिगो भराउने फैसला गरेपछि उनले पार्टीको पदबाट शुक्रवार राजीनामा दिएका हुन्।
सर्वोच्चबाट समेत मुद्दा सदर भए पनि उनले पार्टीको पद नछाडेपछि इतरपक्षका नेताहरू केन्द्रीय पार्टी कार्यालय सानेपामा धर्नामा बसेका थिए। केन्द्रको दबाबपछि उनले शुक्रवार राजीनामा दिए। सिंहले शुक्रवार पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई भेटेर राजीनामा दिएका हुन्।
भदौ ६, २०८२ शुक्रबार १८:५४:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।