दुई हप्तामा ‘मोहर’ले ३ करोड ८० लाख ग्रस कलेक्सन गर्दा ‘सिटामोल’को अवस्था नाजुक

दुई हप्तामा ‘मोहर’ले ३ करोड ८० लाख ग्रस कलेक्सन गर्दा ‘सिटामोल’को अवस्था नाजुक

काठमाडौं : अभिनेता पल शाहलाई दर्शकले यस पटक पनि फिल्ममा रुचाएनन्। निर्माण पक्षको फेसबुक तथा प्रमोसनका लागि निर्माण गरिएको पेजमा हेर्ने हो भने फिल्म ‘मोहर’ले निर्माताको लगानी उठाइसकेको झैँ देखिन्छ। तर यसको ग्रस कलेक्सन ४ करोड पुग्न अझैँ २० लाख कम छ।

साउन २३ गतेबाट हलमा लागेको यो फिल्मले तेस्रो हप्तामा प्रवेश गर्दा चलचित्र विकास बोर्डको बक्स अफिसमा ३ करोड ८० लाख ग्रस कलेक्सन गरेको छ। अर्थात, फैलाइएको हल्लाभन्दा २० लाख कम हो।

यो फिल्मसँगै प्रदर्शनमा आएको ‘सिटामोल’को अवस्था भने निकै नाजुक छ। ‘सिटामोल’ले बिहीबार (हिजो)सम्म ५० लाख ग्रस कलेक्सन मात्र गर्न सफल भएको छ।

यो हिसाब हेर्दा यी दुवै फिल्म फ्लप भएको देखिन्छ। ‘मोहर’को लगानी डेढ करोड भएमा निर्माता सुरक्षित हुने देखिन्छ। तर निर्माण पक्षले लगानी ठ्याक्कै बाहिर नबोले पनि करिब २ करोडमा बनेको भनिएकाले फिल्म अझै फ्लप मानिन्छ। यस फिल्मको कमाइबारे निर्माण पक्षले आधिकारिक रूपमा केही सार्वजनिक गरेको देखिँदैन। तर, उनीहरू आफ्नो फिल्म तेस्रो हप्तामा पुगेको भन्दै उत्साहित देखिएका छन्।

पल शाहले फेसबुकमार्फत फिल्मको व्यापारको कुरा गरेका छैनन्। तर, निर्देशक ओम प्रतिकले सेयर गरेको भिडियोमा उनले आफ्नो फिल्म तेस्रो हप्तामा प्रवेश गर्दा अथाह माया पाइरहेको बताएका छन्।

फिल्म निर्माणदेखि नै मुख्य कलाकारहरू पल शाह, बेनिशा हमाल र नीति शाह हल दौडाहामा व्यस्त छन्। उनीहरूले धनगढी, नेपालगञ्ज, दाङ, बुटवल, चितवन र पोखरासम्मको यात्रा गरेका छन्। यो फिल्म ओम प्रतिक गुरुङको लेखन तथा निर्देशनमा बनेको हो।

सोही दिनदेखि प्रदर्शनमा आएको ‘सिटामोल’ले भने तेस्रो हप्तामा प्रवेश गर्दा ५० लाख मात्रै ग्रस कलेक्सन गरेको छ, जुन निर्माण लागतभन्दा निकै कम हो। राजबहादुर सानेको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, सुशिल पोखरेललगायतले अभिनय गरेका छन्। ‘सिटामोल’को ग्रस कलेक्सन ‘मोहर’भन्दा ३ करोड ३० लाख कम छ।

‘सिटामोल’ एक पूर्वमाओवादी कमाण्डरको शान्ति सम्झौतापछिको अवस्थालाई केन्द्रमा राखेर बनेको हो भने ‘मोहर’ देउकी प्रथामा आधारित सामाजिक-थ्रिलर कथा हो। दुवै फिल्मको कथा बलियो भए पनि समीक्षात्मक हिसाबले कमजोर ठहरिएका छन्।

आजदेखि तीन नेपाली फिल्म ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ र ‘ताराहरू’ प्रदर्शनमा आएका छन्।

भदौ ६, २०८२ शुक्रबार १८:००:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।