ओलीले विद्यालाई भने- कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा सदस्यता कायम हुँदैन

ओलीले विद्यालाई भने- कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा सदस्यता कायम हुँदैन
Filephoto

काठमाडौं : प्रधानमन्त्री केपी शर्माले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भएपछि पार्टी सदस्य त्यागेको र नवीकरण तथा नयाँ सदस्यताका लागि निवेदन नदिएको दाबी गरेका छन्।  

पार्टी केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले पूर्व राष्ट्रपति भण्डारीले पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन नदिएको बताए। 

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम हुन नहुनेबारे एमाले केन्द्रीय कमिटीको निर्णयका सम्बन्धमा स्पष्ट हुन आग्रह गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले पूर्व राष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुराहरू आएको छ। खासमा उहाँले राष्ट्रपति भएपछि पार्टी सदस्य त्याग्नुभएको हो।’ प्रधानमन्त्री ओलीले भने, ‘हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन। उहाँले बाहिर बाहिर बोल्नुभएको छ। पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन दिनुभएको पनि छैन।’

ओलीले पार्टीमा असन्तुष्ट र एकाध जनसंगठनमा हारेकाहरूलाई जम्मा गरेर पार्टी  एकतामा यसरी असहयोग गर्नुहोला भन्ने कल्पना समेत नगरेको बताए।

भदौ ६, २०८२ शुक्रबार १७:३८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।