नक्कली शैक्षिक प्रमाणपत्रको धन्दा चलाउने कँडेल पक्राउ परेपछि रास्वपाले गर्‍यो निलम्बन

नक्कली शैक्षिक प्रमाणपत्रको धन्दा चलाउने कँडेल पक्राउ परेपछि रास्वपाले गर्‍यो निलम्बन

काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रशिक्षण विभागका संयोजक हरिप्रसाद कँडेललाई पार्टीले निलम्बन गरेको छ।

रास्वपाको केन्द्रीय अनुशासन आयोगले कँडेललाई कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरेको हो।

‘हाल आएका सूचनाहरूको आधारमा नेपाल सरकारको अद्यावधिक कानून विपरीतका कार्यहरु नक्कली शैक्षिक प्रमाण पत्र छपाईमा संलग्न भनी रूपन्देही जिल्ला प्रहरी कार्यलयबाट प्रकाउ गरिएको सूचना प्राप्त भएको हुँदा सो विषयमा प्रहरीको आवश्यक छानबिन र अनुसन्धानका क्रममा सहजता पुर्याउने उद्देश्यका साथै प्रमाणित भएमा अन्य थप कारबाही समेत हुन सक्ने गरी हाल तपाईँलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी गराउँदछौं,’ आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले कँडेललाई पठाएको पत्रमा लेखिएको छ। 

नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा अनुसन्धान गर्दै जाँदा रास्वपाका बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेलको संलग्नता देखिएपछि रुपन्देही प्रहरीले उनलाई पक्राउ गरेको हो।

आफ्नो नामको अगाडि ‘डाक्टर’ लेख्दै आएका चितवन कालिका नगरपालिका-५ पदमपुरका कँडेललाई प्रहरीले बिहीबार चितवनबाटै पक्राउ गरी रुपन्देही ल्याएको हो।

जिल्ला प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीले कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा अनुसन्धान सुरू गरिएको जानकारी दिए।

कँडेल यसअघि पदमपुरकै एक सामुदायिक विद्यालयका प्रधानाध्यापक थिए। तर, नक्कली प्रमाणपत्रको विषयमा अख्तियारमा मुद्दा परेपछि उनी प्रधानाध्यापक हुन अयोग्य ठहर भएका थिए।

त्यसपछि उनले चितवनको लायन्स चोकमा ‘कलेज कोच नेपाल प्रालि’ नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएका थिए, जहाँका उनी अहिले पनि अध्यक्ष हुन्।

​​​​​कसरी पक्राउ परे कँडेलसम्म पुग्यो प्रहरी?

यो प्रकरण गत साउन ३० गते रुपन्देहीको बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट एक भारतीय नागरिक पक्राउ परेपछि बाहिर आएको थियो।

भारत कानपुरका २५ वर्षीय अभिषेक यादवलाई प्रहरीले विभिन्न नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्र र त्यसलाई बनाउन प्रयोग हुने सामग्रीको ठूलो भण्डारसहित पक्राउ गरेको थियो।

यादवको साथबाट प्रहरीले त्रिभुवन विश्वविद्यालयका सयौँ थान ट्रान्सक्रिप्ट र खाली प्रमाणपत्र, हजारौँको सङ्ख्यामा नक्कली होलोग्राम र स्टिकरहरू बरामद गरेको थियो। त्यस्तै, उच्च माध्यमिक शिक्षा परिषद् र राष्ट्रिय परीक्षा बोर्डका पनि हजारौँ नक्कली होलोग्राम बरामद भएका थिए।

यसका साथै, भारतका एमिटी विश्वविद्यालय, जवाहरलाल नेहरु टेक्निकल युनिभर्सिटी, छत्रपति साहुजी महाराज युनिभर्सिटी, कुरुक्षेत्र विश्वविद्यालय लगायत दर्जनौँ विश्वविद्यालय र शैक्षिक निकायका नक्कली मार्क सिट, प्रोभिजनल सर्टिफिकेट, क्यारेक्टर सर्टिफिकेट, खाली प्रमाणपत्र, लोगो र नक्कली छापहरू पनि बरामद गरिएको थियो।

सोही अनुसन्धानलाई फराकिलो बनाउँदै जाँदा कँडेलको संलग्नता खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले यस गिरोहमा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने भन्दै अनुसन्धान जारी राखेको छ।

भदौ ६, २०८२ शुक्रबार १७:०८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।