गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फको जीर्ण टर्मिनल स्तरउन्नती हुने

बुटवल : भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फको जीर्ण टर्मिनल स्तरउन्नती हुने भएको छ। सुविधा सम्पन्न अन्तर्राष्ट्रिय टर्मिनल उडानविहीन हुँदा सुनसान छ। तर जीर्ण आन्तरिक टर्मिनल व्यस्त छ। सुविधाविहीन आन्तरिक टर्मिनल जीर्ण र साँघुरो भएकाले यसको विस्तार र स्तरोन्नती गर्न लागिएको हो।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले अहिले रहेको आन्तरिक टर्मिनल जीर्ण र साँघुरो भएकाले त्यसलाई अपग्रेड गर्न थालिएको जानकारी दिए।
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई सजिलै नजिकबाट हवाई मार्गले जोड्ने यो आन्तरिक टर्मिनलको भवन बाहिर ट्रली (सामान बोक्ने साधन) सजिलै गुड्ँदैन। स-साना खाल्डाले ट्रलीको टायरलाई रोकिदिन्छ। न राम्रो प्रतीक्षालय छ न त खानेपानी र शौचालयको गतिलो व्यवस्था छ।
विमानस्थलमा आफन्त वा परिवार लिन जानेहरू प्रतीक्षालयमा आराम गर्न समेत पाउँदैनन्। पानी परेको बेला त झनै समस्या हुन्छ।
यात्रुहरूलाई असुविधा भएपछि अहिले आगमन र प्रस्थान क्षेत्रमा रहेका यात्रु बस्ने सिट दोब्बर बनाउने, शौचालय निर्माण, स्तनपान कक्ष, क्याफे सहितको नयाँ डिजाइन सहित टर्मिनल निर्माण गर्न लागिएको तिवारीले बताए।
‘यात्रु प्रस्थान कक्षमा नयाँ स्तनपान कक्ष, बच्चाहरूको डाइपर परिवर्तन कक्ष हुन्छ । किनमेलका लागि पसल, ल्यापटपमा काम गर्न मिल्ने कक्ष, बच्चाहरूको खेल सामाग्री, चार्जिङ स्टेशनसहित हरियाली क्षेत्र पनि निर्माण हुनेछ’ महाप्रबन्धक तिवारीले भने।
तिवारीले एकैपटक एटीआर र क्याटोगरी जहाजका यात्रु अट्न मिल्ने गरि नयाँ हल निर्माण गरिने जानकारी दिएर उनले अहिले रहेको टर्मिनल भवनको छाना निर्माणको बाँकी काम पूरा गर्नुका साथै बुद्ध जन्मस्थल लुम्बिनीको वास्तुकलासित मेल खानेगरि पुरानो भवनको आउटलुक निर्माण गर्ने तयारी भइरहेको बताए।
२०२१ सालको घाँसे मैदान अनि ०५५ सालमा गौतमबुद्ध नामाकरण गरिएको यो विमानस्थल वि.स. २०७९ वैशाखमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परिणत भएको थियो ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनीकी पूर्व अध्यक्ष रचना पन्त आन्तरिक टर्मिनल स्तरउन्नती भएमा पर्यटकहरू र आम सेवाग्राहीले सहज सेवा पाउने बताउँछिन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सह-प्रवक्ता ज्ञानेन्द्र भूलले आन्तरिक उडान तर्फको टावर नयाँ भएपनि टर्मिनल भवन पुरानो हुँदा यात्रुलाई बस्न असहज भएकाले आन्तरिक टर्मिनलको स्तरउन्नती गर्न लागिएको बताए।
भदौ ६, २०८२ शुक्रबार १६:१२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।