नेपाल लाइफ इन्स्योरेन्सद्वारा सगरमाथामा थुप्रिएको पाँच हजार किलो फोहोर सङ्कलन

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राउन्ड टेबल नेपालसँग सहकार्यमा ‘प्रोजेक्ट केयर’ अभियान अन्तर्गत सगरमाथामा थुप्रिएको ५,००० किलो फोहोर संकलन गरेको छ।
नेपाल लाइफको केन्द्रीय कार्यालय कमलादीमा आयोजित कार्यक्रममा राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले संकलन प्रतिवेदन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीलाई हस्तान्तरण गरेका थिए।
कार्यक्रममा नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, राउन्ड टेबल नेपालका पदाधिकारी, सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) तथा रिसाइकलिङ संस्था ‘खालिसीसी’ का प्रतिनिधिहरूको उपस्थिति थियो।
नेपाल लाइफका सीईओ पराजुलीले सगरमाथा नेपाल मात्र नभई विश्वकै गहना भएकाले यसको संरक्षण सबैको जिम्मेवारी भएको उल्लेख गर्दै आगामी दिनमा पनि वातावरणीय संरक्षण र धरोहर जोगाउन निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
राउन्ड टेबल नेपालका अध्यक्ष अग्रवालले यसपटक ५,००० किलो फोहोर संकलन गरिएको र आगामी दिनमा २५,००० किलो फोहोर व्यवस्थापन गर्ने लक्ष्य रहेको जानकारी दिए। उनका अनुसार, कुहिने फोहोर आधार शिविरभन्दा तल पुरिएको छ भने नकुहिने फोहोरलाई झोलामा बोकेर काठमाडौं ल्याइ र खालिसीसीको सहकार्यमा रिसाइकल गरिनेछ।
सगरमाथामा हरेक वर्ष हजारौँ आरोही पुग्ने भएकाले फोहोर बढ्दो अवस्थामा छ। सरकार र अन्तर्राष्ट्रिय प्रयास प्रभावकारी हुन नसकेको अवस्थामा नेपाल लाइफ–राउन्ड टेबल नेपालको यो सहकार्यले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरिएको छ।
भदौ ६, २०८२ शुक्रबार १५:०८:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।