काण्डै काण्डमा मुछिएकाले नैतिकताको पाठ नसिकाउनुहोस् : सांसद डाँगी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अन्य राजनीतिक दलहरूले आफूहरूलाई नैतिकताको पाठ पढाउन खोजेको भन्दै कडा प्रतिवाद गरेको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै रास्वपाकी सचेतक निशा डाँगीले विभिन्न भ्रष्टाचार र अनियमितताका काण्डमा मुछिएका दलहरूले नैतिकताको कुरा गर्नु हास्यास्पद भएको बताइन्।
उनले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन सत्तारुढ दलहरूले हस्ताक्षर संकलन गरेको विषयप्रति लक्षित गर्दै भनिन्, ‘थरी थरीका काण्डै काण्डबाट निस्कन नसकेका दलले हामीलाई नैतिकताको पाठ पढाउन मिल्दैन।’
व्यङ्ग्यात्मक उदाहरण दिँदै उनले भनिन्, ‘यो त कस्तो भयो भने, परीक्षामा कहिल्यै पास नभएको विद्यार्थीले अरूलाई कसरी पास हुने भनेर तरिका सिकाएजस्तो भयो।’
डाँगीले उपसभामुखलाई बिना कुनै ठोस प्रमाण र आधारमा केवल राजनीतिक प्रतिशोधका लागि हटाउन खोजिएको दाबी गरिन्।
उनले भनिन्, ‘कुनै ठोस प्रमाण छ भने ल्याउनुहोस्, तर केवल कसैको इसारामा हस्ताक्षर गरेर पदबाट हटाउने प्रयास लोकतान्त्रिक अभ्यास हुन सक्दैन।’
यसका साथै उनले वर्तमान सरकारको कार्यक्षमतामाथि पनि गम्भीर प्रश्न उठाइन्।
विगतमा दुई तिहाइको शक्तिशाली सरकारले समेत ३० प्रतिशत काम गर्न नसकेको भन्दै उनले सरकारको काम गर्ने शैली र परिणामप्रति जनता निराश भएको बताइन्।
भदौ ६, २०८२ शुक्रबार १३:५४:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।