शिक्षक महासंघद्वारा सरकारविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं : लामो समयदेखि प्रतिक्षित संघीय शिक्षा ऐनको विधेयकमा आफ्ना पेशागत माग र सरोकारलाई पूर्ण रूपमा बेवास्ता गरिएको भन्दै नेपाल शिक्षक महासंघले सरकारविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।
शुक्रबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमार्फत महासंघले आफ्नो असन्तुष्टि र आक्रोश व्यक्त गर्दै पहिलो चरणका सांकेतिक तर देशव्यापी प्रभाव पार्ने कार्यक्रमहरू सार्वजनिक गरेको हो।
महासंघका अनुसार, प्रस्तावित विधेयकले शिक्षकहरूको पेशागत सुरक्षा, वृत्ति विकास, र मर्यादामाथि प्रहार गरेको छ, जसलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन।
महासंघले आफ्नो आन्दोलनलाई रणनीतिक रूपमा अघि बढाउने भएको छ। पहिलो चरणमा वार्ता र दबाबलाई एकसाथ लैजाने उसको नीति छ।
महासंघले भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री तथा संसदमा रहेका प्रमुख राजनीतिक दलका सचेतकहरूलाई भेटी विधेयकका विवादास्पद बुँदाबारे ध्यानाकर्षण गराउनेछ।
महासंघले भदौ ११ देखि २० गतेसम्म केन्द्रमा रहेका सबै राजनीतिक दलहरूको केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने र प्रत्येक कार्यालयअगाडि दुई घण्टा धर्ना दिने कार्यक्रम तय गरेको छ।
आन्दोलनलाई देशभर फैलाउन भदौ १३ गते सबै पालिकाहरूमा र भदौ १५ गते सबै जिल्ला समन्वय समितिमा ज्ञापनपत्र बुझाउँदै दुई घण्टाको धर्ना कार्यक्रम राखिएको छ।
महासंघका नेताहरूले पहिलो चरणका कार्यक्रमहरू केवल ‘सांकेतिक’ भएको र सरकारले यसलाई कमजोरी ठाने ठूलो भूल हुने चेतावनी दिएका छन्।
यदि भदौ २० गतेसम्म पनि आफ्ना मागहरू सम्बोधन गर्न सरकार उदासीन रहेमा भदौ २१ गते दोस्रो चरणका कार्यक्रम सार्वजनिक गरिनेछ।
महासंघका एक नेताले भने, ‘दोस्रो चरणको आन्दोलन अवरोधपूर्ण र कडा हुनेछ। आवश्यक परे हामी कक्षाकोठा छाडेर सडकमा उत्रिन पनि पछि पर्दैनौं। त्यसबाट उत्पन्न हुने सम्पूर्ण क्षतिको जिम्मेवारी सरकारले लिनुपर्नेछ।’
भदौ ६, २०८२ शुक्रबार १३:२०:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।