कोलम्बियाको एयरबेस नजिकै ट्रकमा विस्फोट : कोकिन खेती नष्ट गर्न गएको प्रहरीको हेलिकप्टरमा ड्रोन आक्रमण, १८ जनाको मृत्यु

कोलम्बियाको एयरबेस नजिकै ट्रकमा विस्फोट : कोकिन खेती नष्ट गर्न गएको प्रहरीको हेलिकप्टरमा ड्रोन आक्रमण, १८ जनाको मृत्यु

एजेन्सी : कोलम्बियामा बिहीबार भएका दुई छुट्टाछुट्टै आतंकवादी हमलामा १८ जनाको मृत्यु भएको छ।

देशको क्याली शहरमा भएको शक्तिशाली ट्रक बम विस्फोट र प्रहरीको हेलिकप्टरमाथि भएको ड्रोन आक्रमणमा परी उनीहरूको ज्यान गएको हो। यी आक्रमणहरूमा ७० भन्दा बढी घाइते भएका छन्।

पहिलो घटनामा, क्याली शहरस्थित मार्को फिदेल सुआरेज सैनिक एयर बेस नजिकै एउटा ट्रकमा शक्तिशाली बम विस्फोट भएको थियो। विस्फोटमा परी ६ जनाको मृत्यु भएको छ भने ७१ जनाभन्दा बढी घाइते भएका छन्।

विस्फोट यति शक्तिशाली थियो कि त्यसले वरपरका थुप्रै भवनहरूमा क्षति पुर्याएको छ। घटनालगत्तै सुरक्षाकर्मीले इलाकालाई नियन्त्रणमा लिई घाइतेहरूको उद्धार गरेका थिए।

यो घटनाको केही घण्टाअघि मात्र, कोकिन खेती नष्ट गर्ने अभियानमा रहेको प्रहरी टोली सवार हेलिकप्टरमाथि ड्रोनबाट हमला गरिएको थियो। उक्त आक्रमणमा परी १२ जना प्रहरी अधिकारीको मृत्यु भएको थियो।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले यी आक्रमणहरूमा विद्रोही संगठन फार्सका असन्तुष्ट समूहहरूको हात रहेको बताएका छन्। फार्सको मुख्य उद्देश्य कोलम्बियाली सरकारलाई अपदस्थ गर्नु हो।

यद्यपि, सन् २०१६ मा भएको शान्ति सम्झौतापछि यो संगठन विघटन भए पनि यसका केही समूहहरू अझै पनि लागूऔषध तस्करी र हिंसात्मक गतिविधिमा सक्रिय छन्।

यसैबीच, रक्षामन्त्री पेड्रो सान्चेजले ट्रक बम विस्फोटलाई ‘आतंकवादी हमला’को संज्ञा दिँदै यसमा लागूऔषध तस्करी गर्ने गिरोह ‘गल्फ क्लान’ जिम्मेवार रहेको बताएका छन्।

घटनापछि क्याली शहरका मेयरले आक्रमणको निन्दा गर्दै दोषीबारे जानकारी दिनेलाई पुरस्कारको घोषणा गरेका छन्। साथै, शहरमा ठूला ट्रकहरूको प्रवेशमा रोक लगाइएको छ। राष्ट्रपति पेत्रोले नागरिक सुरक्षाको विषयमा छलफल गर्न आपतकालीन सुरक्षा बैठक बोलाएका छन्।

कोलम्बिया विश्वको सबैभन्दा ठूलो कोकिन उत्पादक देश हो, जसले विश्वव्यापी आपूर्तिको लगभग ६० देखि ७० प्रतिशत हिस्सा ओगट्छ। देशका दुर्गम र गरिब क्षेत्रहरूमा कोकाको खेती ठूलो मात्रामा गरिन्छ।

सन् २०२३ को तथ्याङ्कअनुसार कोलम्बियामा कोका खेती २.५ लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो।

भदौ ६, २०८२ शुक्रबार १२:१६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।