फ्राइडे रिलिज : ‘जनै हराएको मान्छे’ र ‘माग्ने राजा’सँगै ‘ताराहरू’ प्रदर्शनमा

फ्राइडे रिलिज : ‘जनै हराएको मान्छे’ र ‘माग्ने राजा’सँगै ‘ताराहरू’ प्रदर्शनमा

काठमाडौं : आज शुक्रबारदेखि नेपाली सिनेमा घरहरूमा तीन नयाँ चलचित्र ‘माग्ने राजा’, ‘ताराहरू’ र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ एकसाथ प्रदर्शनमा आएका छन्।

कमेडी, मनोवैज्ञानिक र सामाजिक कथाजस्ता फरक-फरक विधाका यी चलचित्रले दर्शकलाई हलसम्म तान्नेमा निर्माण पक्ष विश्वस्त छ।

हाँस्य कलाकार केदारप्रसाद घिमिरे (माग्ने बुढा) को शीर्ष भूमिका रहेको ‘माग्ने राजा’ कमेडी जनराको चलचित्र हो।

आफूलाई राजा ठान्ने एक साधारण व्यक्तिको जीवनमा आउने उतारचढाव नै चलचित्रको मुख्य कथा हो। यो चलचित्र हास्यप्रधान मात्र नभई एउटा गहन विषयमा केन्द्रित रहेको कलाकार घिमिरे बताउँछन्।

‘यो पात्र मसँग निकै जोडिएको छ र मलाई नै हेरेर तयार गरिएको जस्तो लाग्छ,’ घिमिरेले भने, ‘सधैँ सहायक भूमिकामा देख्ने दर्शकका लागि यो चलचित्र विशेष हुनेछ।’

मुनाल घिमिरेले निर्माण गरेको चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन्। चलचित्रमा केदारका साथै वर्षा सिवाकोटी, विल्सनविक्रम राई, आर्यन सिग्देल लगायतको अभिनय छ।

यसैगरी, प्रदर्शनमा आएको अर्को चलचित्र ‘ताराहरू’ किशोर मनोविज्ञान र मानसिक स्वास्थ्यको विषयमा केन्द्रित छ। मृत्युको कल्पना गरेर हिँडेको एक युवकले अधवैँसे महिलालाई भेटेपछि उसको जीवनमा आउने आशा र खुसीको कथा चलचित्रले भन्छ।

रंगकर्मी आशान्त शर्माद्वारा निर्देशित यो चलचित्र उहाँकै नाटक ‘साथी, साथी आइदेऊ न’ मा आधारित हो। नाटकको कथालाई धेरै दर्शकसम्म पुर्याउने उद्देश्यले चलचित्र बनाएको निर्देशक शर्माले बताए । चलचित्रमा शर्मासँगै मेनुका प्रधान, कुन्दन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने लगायतको अभिनय छ।

आज प्रदर्शनमा आएको तेस्रो चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ हो। अभिनेता विजय बरालको मुख्य भूमिकाका कारण यो चलचित्र प्रतीक्षित बनेको हो। यसअघि ‘पूर्णबहादुरको सारङ्गी’ मा उनको अभिनयले प्रशंसा पाएको थियो।

यस चलचित्रमा बरालले आफ्नो बुबाको सपना पूरा गर्न संघर्ष गर्ने एक युवाको भूमिका निर्वाह गरेका छन्। हिमाल न्यौपानेको निर्देशनमा बनेको चलचित्रमा भानुभक्त ढकालको कथा, पटकथा र संवाद छ।

चलचित्रमा विजयसँगै केकी अधिकारी, मिरुना मगर, सुशाङ्क मैनाली, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ।

भदौ ६, २०८२ शुक्रबार १०:४९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।