माछा मार्न गएका युवक हाइड्रोपावरको ड्याममा मृत फेला

माछा मार्न गएका युवक हाइड्रोपावरको ड्याममा मृत फेला

दोलखा : दोलखामा माछा मार्न गएका एक युवक जलविद्युत आयोजनाको ड्याममा मृत अवस्थामा फेला परेका छन्।

बिगु गाउँपालिका-५ चिलंखाका २१ वर्षीय राजु तामाङ कालिन्चोक गाउँपालिका-२ स्थित सिंगटी हाइड्रोपावरको सोरुमखोला ड्याममा शुक्रबार बिहान मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार, तामाङ बिहीबार घरबाट माछा मार्न भन्दै निस्किएका थिए। तर, उनी साँझसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो।

शुक्रबार बिहान करिब १०:३० बजे हाइड्रोपावरका कर्मचारी राजीव थामीले ड्याममा शव देखेपछि इलाका प्रहरी कार्यालय, सिंगटीमा खबर गरेका थिए।

सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पशुपति चौलागाईं स्मृति अस्पताल पठाएको थियो।

पोस्टमार्टम पश्चात शव मृतकका बुबा बुद्धिमान तामाङलाई बुझाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

भदौ ६, २०८२ शुक्रबार ०९:३४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।