जहाज मर्मतमा वायुसेवा निगमको नयाँ फड्को, ‘म्याग्नेटिक पार्टिकल इन्स्पेक्सन’ सेवा सुरू

काठमाडौं : नेपाल वायुसेवा निगमले आफ्नो जहाज मर्मत तथा इन्जिनियरिङ क्षमता विस्तार गर्दै ‘म्याग्नेटिक पार्टिकल इन्स्पेक्सन’ सेवा सञ्चालनमा ल्याएको छ।
निगमको इन्जिनियरिङ मर्मतसम्भार विभाग अन्तर्गतको कार्यशाला (वर्कशप) मा बिहीबारदेखि यो नयाँ प्रविधि औपचारिक रूपमा सुरू गरिएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा सञ्चालनमा ल्याइएको यो सेवा जहाजका पार्टपुर्जा नखोलीकनै त्यसको अवस्था परीक्षण गर्ने ‘नन-डिस्ट्रक्टिभ टेस्ट’ विधिको एक महत्वपूर्ण हिस्सा हो।
बिहीबार निगमका कार्यकारी अध्यक्षले उक्त सेवाको सुरुवात भएको जानकारी दिँदै यसले निगमको आम्दानीको स्रोत बढाउनुका साथै बाह्य कम्पनीमा हुने खर्च कटौतीमा समेत सहयोग पुग्ने बताए।
उनले भने, ‘यो सेवा निगमको आम्दानीको एउटा नयाँ स्रोत बनेको छ। यसले हाम्रो खर्च घटाउने मात्र नभई अन्य वायुसेवा कम्पनीलाई समेत सेवा प्रदान गरी उनीहरूलाई लाभान्वित गराउनेछ।’
यो नयाँ सेवाको सुरुवातसँगै निगम जहाजको ह्विल तथा ब्रेक युनिटजस्ता संवेदनशील पार्टपुर्जाको परीक्षणमा पूर्ण रूपमा आत्मनिर्भर बनेको छ।
अब निगमको आफ्नै वर्कशपमा ‘एडी करेन्ट इन्स्पेक्सन’, ‘फ्लोरेसेन्ट पेनिट्रेन्ट इन्स्पेक्सन’ र ‘म्याग्नेटिक पार्टिकल इन्स्पेक्सन’ गरी तीनवटै प्रमुख एनडीटी विधिबाट परीक्षण गर्न सकिनेछ।
यसका अतिरिक्त, निगमले ह्विल तथा ब्रेक युनिट मर्मतका लागि आवश्यक पर्ने नाइट्रोजन ग्यास उत्पादन गर्न आफ्नै ‘नाइट्रोजन प्लान्ट’ समेत स्थापना गरी सञ्चालन गरिरहेको छ।
भदौ ६, २०८२ शुक्रबार ०९:२२:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।