भारतको खेल नीति : बहुराष्ट्रिय प्रतियोगितामा पाकिस्तानसँग खेल्ने तर द्विपक्षीय सिरिजमा प्रतिबन्ध, पाकिस्तान जाने विषयमा मौन

भारतको खेल नीति : बहुराष्ट्रिय प्रतियोगितामा पाकिस्तानसँग खेल्ने तर द्विपक्षीय सिरिजमा प्रतिबन्ध, पाकिस्तान जाने विषयमा मौन

एजेन्सी : भारत सरकारले आगामी सेप्टेम्बर ९ देखि सुरू हुने एसिया कपमा भारत र पाकिस्तानबीचको खेलका लागि अनुमति दिएको छ।

बिहीबार नयाँ खेल नीति सार्वजनिक गर्दै सरकारले बहुराष्ट्रिय प्रतियोगिताहरूमा पाकिस्तानसँग खेल्न कुनै रोक नभएको स्पष्ट पारेको हो। यद्यपि, दुई देशबीचको द्विपक्षीय सिरिजमाथिको प्रतिबन्ध भने यथावत् रहनेछ।

भारतीय खेल मन्त्रालयका एक अधिकारीले एउटा पत्र सार्वजनिक गरेका छन्, भारत सरकारको नयाँ खेल नीति हो।

नयाँ खेल नीतिका मुख्य बुँदाहरूमा अन्तर्राष्ट्रिय र बहुराष्ट्रिय प्रतियोगिताहरूमा भारतले अन्तर्राष्ट्रिय खेल संस्थाहरूको नियम र आफ्ना खेलाडीहरूको हितलाई ध्यानमा राखेर निर्णय लिने उल्लेख छ।

यसका अलावा भारतीय टोली र खेलाडीहरूले कमनवेल्थ गेम्स, ओलम्पिक, क्रिकेट, हकी विश्वकप जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिने र भारतमै आयोजना हुने बहुराष्ट्रिय प्रतियोगिताहरूमा पनि पाकिस्तानी खेलाडीहरूले भाग लिन सक्ने भनिएको छ।

यसका अलावा भारतलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि एक रुचाइएको गन्तव्य बनाउन खेलाडी, अधिकारी, प्राविधिक कर्मचारी र अन्तर्राष्ट्रिय खेल संस्थाका पदाधिकारीहरूको भिसा प्रक्रियालाई सहजीकरण गरिने समेत उल्लेख छ।

अन्तर्राष्ट्रिय खेल संस्थाका पदाधिकारीहरूलाई उनीहरूको कार्यकाल अधिकतम ५ वर्षका लागि प्राथमिकताका आधारमा ‘मल्टी-एन्ट्री’ भिसा दिइने विषय पनि नीतिमा समेटिएको छ।

पाकिस्तान भ्रमणबारे नीति मौन
नयाँ खेल नीतिमा भारत सरकारले बहुराष्ट्रिय प्रतियोगिताका लागि पाकिस्तानी टोली वा खेलाडीलाई भारत आउन नरोक्ने कुरा स्पष्ट पारेको छ। तर, यस्ता प्रतियोगितामा भाग लिन भारतीय टोली पाकिस्तान जाने वा नजाने भन्ने विषयमा भने नीति मौन छ।

यसै वर्षको फेब्रुअरी-मार्चमा भएको च्याम्पियन्स ट्रफीका लागि भारतले पाकिस्तान जान अस्वीकार गरेको थियो। जसका कारण आयोजक पाकिस्तानले भारतका खेलहरू संयुक्त अरब इमिरेट्स (युएई) मा गराउनुपरेको थियो र फाइनल खेल दुबईमा सम्पन्न भएको थियो।

भदौ ६, २०८२ शुक्रबार ०९:१७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।