कृषि सहकारी रकम हिनामिना : १० लाख धरौटी बढी भयो भन्दै उच्च गएकी ऋषिकेशकी श्रीमतीसँग १ करोड धरौटी माग

कृषि सहकारी रकम हिनामिना : १० लाख धरौटी बढी भयो भन्दै उच्च गएकी ऋषिकेशकी श्रीमतीसँग १ करोड धरौटी माग

काठमाडौं : उमा गौरी कृषि सहकारीको रकम हिनामिना प्रकरणमा जिल्ला अदालतले तोकेको १० लाख धरौटी बढी भएको भन्दै पुनरावेदनका लागि उच्च अदालत पुगेकी सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलकी श्रीमती गीता कोइरालासँग उच्च अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको छ।

उच्च अदालत विराटनगरका न्यायाधीश विष्णुप्रसाद अर्यालको एकल इजलासले बिहीबार मोरङ जिल्ला अदालतको फैसला उल्टाउँदै कोइरालासहित चार जना प्रतिवादीसँग जनही एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी सन्तोष पोखरेलले जानकारी दिए।

उनले उकेरासँग भने, ‘प्रतिवादी र नेपाल सरकार दुवै पक्ष पुनरावेदनका लागि आएका थिए। मुद्दालाई एकै ठाउँमा राखेर सुनुवाइ गरिएकोमा अञ्जला कोइलासहित चार जनासँग एक करोड धरौटी माग भएको हो भने अन्यको हकमा जिल्ला अदालतकै फैसला सदर गरिएको छ।’

कोइरालासँगै सञ्चालक समितिका सदस्यहरू रोशन राजवंशी, सन्तलाल खवास र ज्योति बास्कोटासँग पनि समान धरौटी माग गरिएको छ।

यसअघि गत पुस २४ गते मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरालालाई १० लाख, बास्कोटालाई ५ लाख, सुमन लोहनीलाई २ लाख र मनोजकुमार सोनीलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

जिल्ला अदालतको उक्त आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले प्रतिवादीहरूलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने मागसहित उच्च अदालतमा पुनरावेदन गरेको थियो भने कोइराला पक्षले धरौटी रकम बढी भएको भन्दै निवेदन दिएको थियो। दुवै पक्षको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले धरौटी रकम बढाउने फैसला सुनाएको हो।

मोरङको धनपालथान गाउँपालिकामा सञ्चालित उमा गौरी सहकारी संस्थाका ८ हजार ८४२ जना शेयर सदस्यको रकम हिनामिना भएको थियो।

छानबिनका क्रममा सहकारीको कुल २२ करोड ४८ लाख २७ हजार रुपैयाँ अपचलन भएको पुष्टि भएपछि गत मङ्सिरमा सञ्चालक समिति सदस्य रहेकी कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा ठगी मुद्दा दायर गरिएको थियो।

प्रहरीको अनुसन्धानको क्रममा फरार रहेकी उनी मुद्दा सुनुवाइको दिन अदालतमा पुगेकी थिइन्। उनको सोही दिन बयान लिएर अदालतले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

भदौ ६, २०८२ शुक्रबार ०८:४२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।