बन्धकहरूको रिहाइको लागि इजरायलले वार्ता गर्छ : प्रधानमन्त्री नेतान्याहू

बन्धकहरूको रिहाइको लागि इजरायलले वार्ता गर्छ : प्रधानमन्त्री नेतान्याहू

एजेन्सी : इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले बन्धकहरूको रिहाइका साथै ‘इजरायललाई स्वीकार्य’ सर्तहरूमा गाजा युद्ध समाप्त गर्नका लागि वार्ताको निर्देशन दिएको बताएका छन्।

प्रधानमन्त्री नेतान्याहुले बिहीबार राति इजरायली सैनिकहरूलाई आफ्नो मन्त्रिमण्डलले व्यापक अन्तर्राष्ट्रिय र घरेलु विरोधका बावजुद गाजा शहरको उत्तरी हिस्सामा ठूलो स्तरको आक्रमणको योजनालाई स्वीकृत गरेको जानकारी दिए।

यसअघि हमासले गत सोमबार कतार र इजिप्टका मध्यस्थकर्ताहरूले तयार पारेको ६० दिने युद्धविराम प्रस्तावमा सहमति जनाएको थियो। कतारका अनुसार, उक्त प्रस्तावमा गाजामा बाँकी रहेका आधा बन्धकहरूलाई रिहा गर्ने शर्त समावेश थियो।

उक्त प्रस्तावमा पहिलो पटक प्रतिक्रिया दिँदै नेतान्याहुले त्यसलाई स्वीकार गरेका छैनन्। इजरायली सञ्चारमाध्यमले एक अधिकारीलाई उद्धृत गर्दै स्थान तय भएपछि वार्ताकारहरूलाई नयाँ चरणको वार्ताका लागि पठाइने जनाएको छ।

इजरायलको गाजा डिभिजन मुख्यालयको भ्रमणका क्रममा जारी गरिएको एक भिडियो सन्देशमा नेतान्याहुले भने, ‘मैले हाम्रा सबै बन्धकहरूको रिहाइका लागि तुरुन्तै वार्ता सुरू गर्न निर्देशन दिएको छु।’

इजरायल र हमासबीचको यो युद्ध ७ अक्टोबर २०२३ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि सुरू भएको थियो। उक्त आक्रमणमा एक हजार दुई सय जनाको मृत्यु भएको थियो भने २५१ जनालाई हमासले बन्धक बनाएर लगेको थियो।

युद्धमा रहेका ५० बन्धकमध्ये अब केवल २० जना मात्र जीवित रहेको हुनसक्ने इजरायलको अनुमान छ।

हमासको आक्रमणविरुद्ध इजरायलले गाजामा सैन्य कारबाही सुरू गरेको थियो। गाजाको हमास-शासित स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली आक्रमणमा परी हालसम्म कम्तीमा ६२ हजार १९२ प्यालेस्टाइनी मारिएका छन्।

भदौ ६, २०८२ शुक्रबार ०७:५८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।