गण्डकी र सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर साधारणतया बदली हुनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भेगका केही स्थानमा र तराईका केही भागमा मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेग तथा लुम्बिनी प्रदेशका तराई एवं पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार आज राति देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ।
साथै पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षा हुनसक्नेछ।
भदौ ६, २०८२ शुक्रबार ०७:११:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।