
उमागौरी सहकारी ठगीमा जिल्लाको १० लाख धरौटी उच्चले उल्टाएर एक करोड बनायो

विराटनगर : मोरङको धनपालथान गाउँपालिकास्थित उमागौरी सहकारी संस्थामा भएको २२ करोडभन्दा बढीको ठगीमा उच्च अदालत विराटनगरले मुख्य अभियुक्तहरूलाई १-१ करोड रुपैयाँ धरौटी बुझाउन आदेश दियो।
न्यायाधीश विष्णुप्रसाद अर्यालको एकल इजलासले बिहीबार जिल्ला अदालत मोरङले १० लाखदेखि १ लाखसम्म धरौटी तोकेर छाडेका प्रतिवादीहरूलाई १-१ करोड धरौटी माग्यो।
सार्वजनिक लेखा समितिका सभापति तथा एमाले सांसद ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला समेत १० लाख धरौटीमा छुटेकी थिइन्।
उनीसँगै सञ्चालक समिति सदस्य सन्तलाल खवास, ज्योति बाँस्कोटा र पूर्व वडाध्यक्ष रोशन राजवंशीले समेत समान रकम बुझाउनुपर्ने छ।
सरकारी वकिलको कार्यालयले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेपछि पनि पटक पटक पेशी सारियो। तीन महिनाको अवधिमा १३ पटकसम्म पेशी स्थगित भयो।
वैशाख ११ गते न्यायाधीश श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासमा राय बाझिएपछि मुद्दा तेस्रो न्यायाधीशको इजलासमा पुगेको थियो।
न्यायाधीश बास्तोलाले १-१ करोड धरौटीको पक्षमा राय दिएका थिए भने न्यायाधीश पुडासैनीले जिल्ला अदालतको आदेशलाई सदर गर्नुपर्ने धारणा राखेकी थिइन्। अन्ततः न्यायाधीश अर्यालले बास्तोलाको धारणालाई सदर गरे।
सहकारी ठगी प्रकरणको सुरुवात गत वर्षको सुरुतिर भएको थियो। छानबिनका क्रममा ८ हजार ८ सय ४२ जना शेयर सदस्यहरूको लगानी दुरुपयोग भएको तथ्य सार्वजनिक भयो। सहकारी संस्थाको अनुगमनपछि कुल २२ करोड ४८ लाख २७ हजार रुपैयाँ अपचलन भएको पुष्टि भएको थियो।
गत मंसिरमा अञ्जलासहित २६ जनाविरुद्ध ठगी मुद्दा दायर गरिएको थियो। यिनीहरूमा सञ्चालक समितिका सदस्यहरू, कर्मचारीहरू र सहकारीका विभिन्न पदमा रहेका व्यक्तिहरू संलग्न देखिएका छन्।
भदौ ५, २०८२ बिहीबार २१:५४:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।