फरक मत राख्ने जनार्दनलाई धम्क्याइ रहन्छन् प्रचण्ड

फरक मत राख्ने जनार्दनलाई धम्क्याइ रहन्छन् प्रचण्ड

काठमाडौं : पार्टी नेतृत्वको कमजोरीमा फरक मत राख्दै आएका नेता जनार्दन शर्मालाई आत्मालोचना गराउन असफल भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र गुटबन्दी गर्नेलाई छुट दिन नसकिने भन्दै चेतावनी दिए।

पार्टी उप महासचिव रहेका शर्माले नेतृत्वको कमजोरीका कारण पार्टी कमजोर भएको, नीति अस्पष्ट भएको भन्दै विशेष महाधिवेशनको माग राख्दै आएका छन्। पार्टीमा जनार्दनको प्रभाव बढ्न थालेपछि प्रचण्डसहितका नेता उनी विरुद्ध सक्रिय भएका छन्।

बिहिबार पोखरामा भएको पार्टीको बैठकमा उनले फरक मतलाई गुटबन्दी गरेको आरोप लगाउँदै नेताहरूलाई ‘आफ्नै खुट्टामा बञ्चरो’ नहान्न निर्देशन दिए। 

गण्डकी प्रदेशको पोखरामा बिहीबार आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘गुटले कसैलाई कहीँ लाँदैन। विध्वंसबाहेक केही गर्दैन। अब गुट, समूह बनाएर नेपाली समाजवादी क्रान्तिलाई बर्बाद पार्नेहरूलाई छुट दिन सक्दैनौँ।’ 

जनार्दन शर्मासँगको विवादको पृष्ठभूमि

२०८० फागुनमा भएको पार्टी महाधिवेशनमा शर्मा महासचिव बन्न खोजेका थिए। तर, प्रचण्डले देवप्रसाद गुरुङलाई महासचिवमा बनाएपछि दुबैको सम्बन्ध चिसिन थाल्यो। शर्मासँगै वर्षमान पुन पनि महासचिवको आकांक्षी थिए। दुबैलाई उपमहासचिब बनाए। त्यसयता शर्माले पार्टीमा निरन्तर नेतृत्व हस्तान्तरण, पार्टीको लोकतन्त्रिक संरचना, प्रत्येक पदको प्रत्यक्ष चुनाव, केन्द्र-प्रदेशको स्वायत्तता, भ्रष्टाचारविरुद्ध संगठनात्मक जागरणजस्ता सुधारको प्रस्ताव राख्दै आएका छन्।

शर्माले सार्वजनिक रुपमा पार्टीभित्र भ्रष्टाचार, प्रक्रिया उल्लंघन, केन्द्रीयकरण, लीडरशिपको शैलीको आलोचना गर्दै आएका छन्। प्रचण्डले असहमति जनाउँदै सार्वजनिक रूपमै आलोचना गर्दै आएका छन्।

प्रचण्डले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध  र सुशासनको पक्षमा काम गरेको दाबी गरिरहन्छन्। तर शर्माले सार्वजनिक कार्यक्रममै मनमोहन अधिकारी बाहेक सबै कम्युनिष्ट नेताले असुली धन्दा चलाएको बताए। अनि अध्यक्ष प्रचण्ड उनीप्रति क्रुद्ध भए।

शर्माले पछिल्लो समय राजनीतिक भेटघाट बढाएका छन् भने प्रचण्डले पार्टी छाडेर जान धम्क्याइरहेका छन्।

‘अन्तिमसम्म सम्झाएको’ दाबी

बिहिबार अध्यक्ष प्रचण्डले शर्माको नाम लिएनन्। तर उनी शर्माप्रति नै केन्द्रित भए। आफूले स्थायी कमिटी बैठकमा अन्तिम समयसम्म साथीहरूलाई सम्झाएको बताए।

उनले भने, ‘हामीसँगै लडेका, हिँडेका साथीहरू फुटेर गइहाल्छन् भन्ने चाहना हामीलाई छैन। सकेसम्म तिनीहरूले कुरा बुझून्। गुटबन्दी नगरून्। तिनीहरूले अराजकता नफैलाऊन्।’ 

पार्टीभित्र प्रचण्डलाई शर्माको टक्कर

प्रचण्डले निरन्तर दबाबमा राख्न खोजे पनि शर्माले पार्टीमा टक्कर दिन छाडेका छैनन्। शर्माको बढ्दो दबाबले पार्टी संगठनमा निर्वाचन गर्ने साहस समेत गरेका छैनन्।

विद्यार्थी संगठनमा प्रचण्ड, नारायणकाजी एकै ठाउँमा हुँदा पनि शर्माको समूहका हेमन्त राईले हेमन्त सापकोटालाई कडा टक्कर दिएका थिए। प्रेस सेन्टरमा पनि प्रचण्ड र शर्माको उम्मेदवारबीच टक्कर भएको थियो।

अनि वाइसियलको निर्वाचनमा शर्मा पक्ष हावी हुने देखिएपछि प्रचण्डले निर्वाचन नै गर्न दिएनन्। सर्वसम्मत भन्दै आफैँ नियुक्त गरे।

भदौ ५, २०८२ बिहीबार २१:३५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।