गायक रामकृष्ण दुवालसँग हिजोका कुरा : दरबारले गीत गाउन बोलाउँदा गएनन्, रेडियोमा छिर्न दिएनन्

काठमाडौं : ‘एक जुगमा एक दिन एक चोटी आउँछ, उलट पुलट उथल पुथल हेरफेर ल्याउँछ’ गाउने गायक हुन रामकृष्ण दुवाल। उनी ७६ वर्षका भए। तर जोस-जाँगर भने घटेको छैन।
वि.स. २०३२ सालमा त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा पहिलो पटक गुन्जिएको यो गीत राजनीतिक दलको आमसभामा पनि निकै लोकप्रिय थियो।
वि.स. २००६ सालमा कीर्तिपुर पाँगामा जन्मिएका दुवाल हाल कीर्तिपुर नगरपालिका वडा नम्बर ८ का बासिन्दा हुन्। ३१ वर्षको उमेरमा सरकारी जागिर पाएका उनलाई जनताको गीत गाएको भन्दै जागिरबाट निलम्बन गरिएको थियो। ३१ सालको आन्दोलनको समयमा उनी कुटिए र १० महिनासम्म जेल परे।
दुई वर्ष बिरामी भएर थलिएका उनमा पुनः गीत गाउने उर्जा जागेको छ। शनिबार उनले नेपाली आधुनिक संगीतमा समर्पित कार्यक्रम श्रृंखला ‘पलेँटी’मा यही गीत गुनगुनाउँदै छन्।
उनै दुवालले आफ्ना अनुभव, संघर्ष र संगीतप्रतिको लगावलाई उकेराको साप्ताहिक स्तम्भ ‘हिजोका कुरा’मा साटेका छन् :
सरकारले रोक्न नसकेको त्यो गीत
‘एक जुगमा एक दिन’ भन्ने गीत विक्रम संवत् २०३२ सालमा बनाइएको हो। रेकर्ड त वि.स. २०४२ सालतिरै गरिएको थियो। तर गीत गाउने काम वि.स. २०३२ सालमै त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा मैले नै सुरू गरेको थिएँ। त्यसपछि यो गीत खुल्ला मञ्चमा प्रस्तुत भयो र तत्कालै हिट भयो।
म बीएडको पढाइ गर्दै थिएँ। प्रत्येक वर्ष त्रिभुवन विश्वविद्यालयमा होस्टेल डेको कार्यक्रम हुन्थ्यो। त्यसमा सांस्कृतिक कार्यक्रम पनि राखिन्थ्यो। विद्यार्थीहरूबीच छलफल हुँदा गीत गाउने जिम्मा मलाई दिइयो। मेरो मनमा आयो- ‘एउटा स्वागत गीत त बनाउनु पर्छ।’ त्यसरी ३० वर्षको उमेरमा यो गीत तयार भयो।
गीत गाउँदा सरकारले यसमा बन्देज लगाउने निकै प्रयास गरेको थियो, तर सफल हुन सकेन। होस्टेलमा कार्यक्रम भएकाले विद्यार्थीहरूको अगाडि प्रहरीले हस्तक्षेप गर्न सकेन।
त्यतिबेला विभिन्न विद्यार्थी संगठनहरू थिए। अनेरास्ववियु, नेविसंघ, पञ्चे विद्यार्थी संगठन र अन्य २-३ संघका विद्यार्थीहरू। सबैले मिलेर कार्यक्रम उत्कृष्ट बनाउनुपरेको कारण यो गीत बहुमतले पारित भएर गाउन पाइयो।
त्यतिबेला विद्यार्थीहरूमा केही विभाजन थियो। म पाँचौँ र छैटौँ बामपन्थी विद्यार्थी संगठनमा थिएँ। यो गीत माओवादीले देशव्यापी रूपमा प्रचार गरेर गाएका थिए। अहिले मलाई लाग्छ- यो गीत कालजयी मात्रै होइन, जनताको गीत बनेको छ। गोपालप्रसाद रिमालले यसैगरी ‘रातो र चन्द्र सुर्य’ लेख्नुभयो। दुवै गीत सदावहार बने।
मसँग अहिले पनि त्यो पुरानो क्यासेट रेकर्डर छ, जसबाट हामीले बन्द कोठामा लुकीछिपी रेकर्ड गरेका थियौं।
गीत गाउँदा किर्तिपुरका बासिन्दा पनि उठेर आउँथे। त्रिभुवन विश्वविद्यालयले रोक्न सक्दैनथ्यो। यहाँ आएपछि किर्तिपुरका सबैले ढिमे-ढिमे, ढ्याङ-ढ्याङ, ढुङ-ढुङ गर्दै स्वागत गर्थे। कोही लाठो बोकेर आए पनि रोक्न सक्ने अवस्था थिएन।
जनताको गीत गाउने मान्छे भन्ने थाहा पाएर जागिरबाट पनि निलम्बन गरियो
मेरो जागिर वि.स. ३१ सालमा नै शिक्षा मन्त्रालयमा स्थायी रुपमा थियो। म त त्यहाँ जागिर खान गएको मान्छे हुँ, शिक्षा आयोगबाट नियुक्त। प्रतिस्पर्धा गरे पनि म दोस्रो नम्बरमा परेको थिएँ।
तर जनताको गीत गाउने र पार्टीमा सक्रिय भएको थाहा पाएपछि मलाई निलम्बनमा राखियो। स्थायी नियुक्ति भएकाले सरकारले मलाई पूर्ण रूपमा हटाउन सकेन। २०५२ सालमा फेरि मलाई नियुक्ति दिइयो।
यति लामो समय ‘सस्पेन्स’मा बसेपछि क्षतिपूर्ति माग गर्न सकिन्थ्यो, तर मैले दाबी गर्नु परेन। २०५२ सालदेखि २०६८ सालसम्म सरकारी जागिरमा कार्यरत रहे। त्यसपछि उमेरहदका कारण निस्किनु पर्यो।
सरकारले ‘सस्पेन्स’ गरेपछि म निजी विद्यालयमा गीत-संगीत पढाउन थालेको थिए। सिद्धार्थ वनस्थली, बौद्धको अरुणिमा स्कुल, भक्तपुरको एभरेष्ट स्कुलमा पढाएँ र पछि आफैले पनि विद्यालय खोलेँ। निजी विद्यालय खोलेपछि गीतसंगीतको प्रचार-प्रसार सहज भयो। सरकारी जागिरमा फर्कन नसक्दा यो विकल्प अपनाउनुपरेको थियो।
अहिलेको टियु क्रिकेट मैदानमा स्याल कराउँथे
त्रिभुवन विश्वविद्यालयमा त्यो समय देशभरकै मान्छेहरू पढ्न आउँथे। डिग्री पढ्ने विद्यार्थीका लागि मुख्य कलेज त्यही विश्वविद्यालय थियो। त्यतिबेला अन्यत्र कलेज खुलिसकेको थिएनन्, सबैले टियुमा मात्रै पढ्नुपर्थ्यो।
इण्डिया, श्रीलङ्का जस्ता देशबाट पनि विद्यार्थीहरू पढ्न आउँथे। आ-आफ्नो विषय अनुसार कोही विज्ञानतर्फ, कोही अन्य विषयतर्फ अध्ययन गर्थे। धेरै संकाय भएका कारण विद्यार्थी संख्या पनि पर्याप्त थियो।
त्यस समय टियुको चौर दिउँसै स्याल दौडने ठाउँ थियो। अहिलेको जस्तो घरबासहरू थिएनन्। मैले त कति पटक देखेको छु।
अहिलेको क्रिकेट मैदान जस्तो खुल्ला मैदान थियो, त्यहाँ हजारौं स्याल दिउँसै दौडन्थे। खेल्नका लागि यो साँच्चै उपयुक्त स्थान थियो।
रेडियो नेपालमा पस्नै दिएनन्
मलाई रेडियो नेपालमा प्रवेश गर्नै दिइँदैन थियो। मैले रेडियो नेपालमा पहिलो पटक १६ सालमा नै नेवारी भाषाको गीत गाइसकेको थिएँ। त्यो समय नेवारी भाषाको असारे गीत गाउन मात्र रेडियोमा प्रवेश थियो। गीत रेकर्ड पनि भयो।
त्यतिबेला रेडियो नेपालमा कुनै राजनीतिक प्रभाव थिएन। लाइभमा गीत गाउनुपर्थ्यो, सुरुमै रेकर्ड हुँदैनथ्यो। कसैले बजाउने, कसैले निर्देशन दिने, कसैले गाउने। सबै फाइनल भएपछि मात्रै रेकर्ड गरिन्थ्यो। रेकर्ड भएपछि पारिश्रमिकको रूपमा ६ रुपैयाँ दिइन्थ्यो।
त्यो समयमा गायक-गायिकाहरूको श्रेणी छुट्याउने चलन पनि थिएन। मलाई नेवारी भाषाको गीत गाउने भनेर मात्र त्यहाँ लगिएको थिएँ। कीर्तिपुरबाट पैदल हिँडेर आएर गीत गाएको थिएँ।
त्यतिबेला सबै नेवारी वा अन्य समुदायको गीत गाउने अनुमति थिएन। पर्व-पर्वका गीत मात्र गाउन दिइन्थ्यो। रेडियो नेपालमा नेवारी भाषाको ‘जीवन दबु’ कार्यक्रम पनि थियो। जुन सरकारले २१ सालमा बन्द गरिदियो। यही अभियानको क्रममा म जनताको गीत गाउन पुगेको हुँ।
त्यो भन्दा पहिले मलाई राजनीति धेरै थाहा थिएन। २०१५ सालको चुनावमा पुष्पलाल लगायत उम्मेदवार उठ्दा चुनावी गीत निकालिन्थ्यो। म पनि आफ्नो पार्टीको समर्थनमा गीत गाउँथे र कीर्तिपुरमा बजाउँथे।
बचपनमा स्टेजमा गीत गाउन नदिए पनि म बाहिर बाहिर गीत गाउँदै हिँड्थेँ। त्यसबेला पार्टी गीत गाउनेहरूमा प्रेमध्वज प्रधान, नारायण गोपाल जस्ता व्यक्तिहरू पनि थिए। म पनि उनीहरूसँगै गाउँथे।
त्यो बेला गाएको गीतमध्ये एउटा नेवारी भाषाको गीत थियो- ‘हे महान देश या किसान नौ जवान’। यो गीत मैले पुष्पलाललाई गाउँन पाएँ, किनभने उनी हाम्रो गाउँमा भूमिगत बस्ने गर्थे। उनी मलाई देख्ने बित्तिकै ‘गीत गाउ, गीत गाउ’ भन्थे।
त्यो समयमा काठमाडौंमा नेवार समुदाय कम्युनिष्ट आन्दोलनमा निकै सक्रिय थिए। मलाई लाग्छ, त्यतिबेला कम्युनिष्ट पार्टी गठनका चार जना नेवार थिए। जसमा नरबहादुर कर्मचारी लगायत थिए।
‘सिर्सा या हेकु’ गीत वि.स. २०४२ सालमा गाइएको गीत हो। त्यो समयमा देशभर नेवारी भाषाको गीत प्रतियोगिता आयोजना गरिएको थियो। थहिटीमा रहेको एक संस्थाले यो कार्यक्रम आयोजना गरेको थियो।
प्रतियोगितामा भाग लिनका लागि मैले पनि यो गीत लिएर सहभागिता जनाए। पुरस्कार जित्नेले १५ हजार रुपैयाँ पाउने व्यवस्था गरिएको थियो, जुन त्यो समयमा निकै ठूलो रकम थियो। मैले गीत तयार पारेर प्रतियोगितामा लगाएँ, तर मलाई सहभागी गराउन नमाने।
गीत राम्रो भएकोले कोही पनि प्रतियोगितामा सहभागिता नजनाउने निर्णय भयो। प्रेमध्वज प्रधान, नातिकाजी, दुर्गालाल लगायतले यो गीत ‘सारै राम्रो छ, यस्तो गीत पाउन मुस्किल छ’ भन्दै विशेष पुरस्कार दिने निर्णय गरे। अन्ततः बिजेतालाई बराबरको पुरस्कार दिइयो।
यो पुरस्कार मेरो संस्था ‘संकल्प परिवार’मा राखिएको थियो, जुन आजसम्म पनि कायम छ। मात्र गीत गाउँदा करिब ४ हजार मानिसहरू नाचेका थिए। सुन्ने सबैले नाचेर रमाइलो अनुभव गरे। यो गीत जेठ-असार महिनामा गाउने परम्परागत गीत हो।
त्यो बेलाको प्रेम विवाह टिक्न सकेन
मेरो पहिलो विवाह प्रेममा आधारित थियो। मैले उनीलाई भगाएर लगाएको थिएँ। यो वि.स. २०२९–२०३० सालतिरको कुरा हो।
पहिलो विवाहमा हाम्रो सम्बन्ध बिस्तारै राम्रो हुन सकेन। सम्बन्ध बिग्रनुको मुख्य कारण उनीहरूको परिवारले मलाई स्वीकारेन। उनी धनी परिवारकी छोरी थिइन्।
मेरो गतिविधि हेरेर उनी मलाई मन पराएकी थिइन्। उनी ममाथि आकर्षित भएपछि मैले उनलाई भगाएर ल्याए। हाम्रो व्यापार पनि सँगै चलिरहेको थियो। व्यापारका क्रममा कहिले सिन्धुली, बनेपा, कहिले हेटौडा जस्ता ठाउँहरूमा जानुपर्थ्यो। कपडा, तोरी आदि खरिद गरेर काठमाडौंमा बेच्ने काम थियो।
व्यापारका लागि घर छोडेर हिँड्दा हाम्रो निकटता कम भयो। अन्ततः उनको परिवारले उनलाई फर्काएर लग्यो। त्यसपछि मैले वि.स. २०३९ सालमा दोस्रो विवाह गरे।
जेलमा बस्दा दिनभरि गीत गाउँथे
त्यो बेला राजनीतिमा रहन सजिलो थिएन। आन्दोलनमा आउँदा पुलिसले लाठी हानेर मेरो दायाँ खुट्टो भाँचिदियो। अहिलेसम्म त्यसको दाग छ। यो वि.स. २०३६ सालको आन्दोलनको कुरा हो। बसन्तपुरबाट रत्नपार्कतर्फ आउँदै गर्दा पुलिसले लाठी घुमाएर हान्यो र मेरो खुट्टामा ठोक्कियो। त्यो भन्दा पहिले म १० महिना जेल पनि बसेँ। वि.स. २०३१ सालमा मे दिवस मनाउँदा मलाई पक्राउ गरेर जेल हालियो। खोरमा हुँदा कुटाइ हुन्थ्यो, तर जेलभित्र भने कुटाइ हुन्नथ्यो।
जेलमा बस्दा म, केपी शर्मा ओली, सिपी मैनालीसँगै थियौँ। म जेलमा पनि हाँस्ने र गीत गाउने गर्थेँ। नेपाली र नेवारी भाषाका गीतहरू गाइरहन्थे। १० महिनासम्म म जेलमा दिनभरि गीत गाएर बसेँ। त्यतिबेला लोकप्रिय गीतहरू- ‘कोही त भने जहाजमा हरर, कोहीको भने पसिना तररर’, ‘चमेली’ बढी गाइन्थ्यो।
जेलबाट बाहिर आएपछि जनताको गीत गाएको कारण आजसम्म मलाई कसैले धन्यवाद दिएको छैन। कसैले सम्झेको पनि छैन। मेरै गीत गाएर, बजाएर धेरै मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति बने। तर मलाई उनीहरूले सम्झेको थाहा छैन।
दरबारले गीत गाउन बोलाउँदा इन्कार गरे
मलाई पनि नारायणहिटी दरबारले गीत गाउन निमन्त्रणा गरेको थियो। तर म गइन। यदि गाएको भए म पनि दरबारमा गीत गाउने मध्ये पर्थे होला।
बेला-बखत गीत गाउनका लागि निमन्त्रणा आउँथ्यो। तर म गइन। यो वि.स. २०२६-०२७ सालको कुरा हो। मलाई लाग्थ्यो, ‘के राजाको चाकडी गर्न जानु ? आफ्नै हिसाबले हिँड्ने हो।’ मसँग आफैमा चेतनाको उर्जा थियो।
मेरो आफ्नै जग्गा-भूमि छँदै थियो। दुःख गरेर कमाएको छ। नजाने भनेर होइन, म जानै चाहिनँ। मैले राजालाई गीत सुनाउन दरबार जान इन्कार गरेको हुँ।
त्यो बेला धेरै कलाकारहरू दरबारमा गीत गाउन जान्थे र खुसी हुन्थे। प्रेमध्वज पनि त्यस्तै व्यक्ति थिए, उनी पनि गाउन मान्दैनथे।
भदौ ५, २०८२ बिहीबार २०:०७:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।