पशु रोग अन्वेषण प्रयोगशाला सञ्चालनमा आएपछि पश्चिम नवलपरासीका किसानलाई राहत

पशु रोग अन्वेषण प्रयोगशाला सञ्चालनमा आएपछि पश्चिम नवलपरासीका किसानलाई राहत

बुटवल : गत वर्ष देखि पश्चिम नवलपरासीमा सञ्चालनमा आएको पशु रोग अन्वेषण प्रयोगशालाले किसानलाई धेरै राहत भएको छ। प्रयोगशाला स्थापना भएपछि पशुपक्षी विरामी हुँदा त्यहाँका किसान रोगको निदान गर्न चितवन, काठमाडौं, पोखरासम्म पुग्नुपर्थ्यो।

तर अहिले पशु रोग अन्वेषण प्रयोगशालाले सेवा दिन थालेपछि प्रदेशका किसानहरूले ठूलो राहत पाएका हुन। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पशु रोग अन्वेषण प्रयोगशाला पश्चिम नवलपरासीका प्रयोगशाला प्रमुख डा. भरत काफ्लेले प्रयोगशालामा प्रदेशभरबाट रोग पत्ता लगाउन विभिन्न पशुपक्षीहरूको नमुना आउने गरेको बताए।

यो प्रयोगशालामा नवलपरासीका अलवा रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, गुल्मी र रोल्पाबाट समेत नमुना परिक्षणका लागि ल्याईने गरिएको छ। कार्यालय प्रमुख थापाका अनुसार गत वर्ष मात्र रेविज परीक्षण कुकुर २४ वटा, भैसी ६, गाई, ५ वटा, घोडा र भेडा १-१, बाख्रा २ गरी ३९ वटाको गरिएको छ।

गएको वर्ष मात्र कार्यालयले कुल ५ हजार ६६९ वटा विभिन्न नमुनाहरू प्रयोगशालाबाट परीक्षण गरेको छ। सबैभन्दा धेरै पशुहरूको रगत परीक्षण गरिएको छ। गएको वर्ष स्मियर सेरम, सिविसि, एलएफटि र केएफटी परीक्षण ३ हजार २४३ वटा गरिएको छ।

त्यस्तै दुध परीक्षण १ हजार ४१ वटा नमुनाहरू गरिएको छ। कुखुरा, कुकु, भैसी, गाई र बंगुरको पोष्टमार्टम मात्र १ हजार वटाको गरिएको छ। त्यसैगरी गोवर १९, कल्चर ( एएसटि ३४७, छाला १५ र पसिाव ४ वटाको परीक्षण गरिएको प्रयोगशाला प्रमुख थापाले बताए।

‘अहिले पनि प्रयोगशालाको संरचना अप्रयाप्त रहेको छ। यदि संरचना अझै प्रयाप्त भए हामीले सेवा बढाउन सक्छौ’ उनले भने। लुम्बिनी प्रदेश सरकारले ‘स्वस्थ पशुपन्छी, खुसी किसान– समृद्ध लुम्बिनी’ नारालाई साकार पार्न यो नयाँ सेवा गत बर्ष बाट मात्र लागु गरेको हो।

जसका कारण पशुपक्षीमै लागेको रोग पत्ता लगाउन जिल्ला बाहिर जानुपर्ने जिल्लाबासीको बाध्यता हटेको छ।

प्रयोगशालाले विशेषगरी खोरेत, रेबिज, पीपीआर र अफ्रिकन स्वाइन फिभरजस्ता गम्भीर रोगको छिटो पहिचान गर्छ। त्यस्तै हेमाटो एनाइलजर मेसिन समेत जडान गरी पशुको रक्त परिक्षण गर्ने कार्य पनि गर्दै आएको छ।

रक्त परिक्षणमा रातो रक्त कोषिका (आरविसी), श्वेत रक्त कोषिका (डब्लुविसी) र प्लेटलेट्स तथा हेमोग्लोविनको अवस्था समेत पहिचान गरी परीक्षण गर्दै आएको उनले बताए। त्यसैगरि बायो केमिस्टक एनलाईजर मेसिन जडान गरी लिभर (कलेजो), किड्नी (मृगौला) को अवस्था पहिचान गर्ने कार्य भइरहेको उनले बताए।

 उनले प्रयोगशालाले रोग निदान मात्र नभई, रोगको निगरानी र नियन्त्रणका लागि जिल्ला जिल्लामा पुगेर नमुना संकलन गरी ल्याउने गरेको बताए।

भदौ ५, २०८२ बिहीबार १८:३१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।